काठमाडौं – नेपालकै प्रसिद्घ धार्मिक तीर्थस्थलका रुपमा परिचित बुढानिलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी अर्थात् तुलसी विवाहका दिन लाग्ने विशेष मेलाको अवसरमा काठमाडौंको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
कात्तिक २६ गते बसेको बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
तुलसी विवाहका दिन विशेष मेला लाग्ने भएकाले नगरपालिकामा स्थानीय पर्वका रुपमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाअन्तर्गत रहेका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने भएको छ । बुढानिलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको छ ।
कात्तिक २९ गते हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिइन् ।
नगरपालिकाभित्र रहेको नेपालको ४ नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचंगुनारायण मन्दिरमा प्रत्येक वर्ष तुलसी विवाहका दिन विशेष मेला लाग्ने भएकाले नगरपालिकाले स्थानीय पर्वका रुपमा भोलि सोमबार सार्वजनिक बिदा दिने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।