काठमाडौं – ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा पर्सि शुक्रवार सार्वजनिक बिदा दिने निर्णय बागलुङको ताराखोला गाउँपालिकाले गरेको छ ।
गत कात्तिक १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका–२ अर्गलमा प्रचलित भुस पोल्ने पर्व बर्सेनि कात्तिक २४–२६ गतेसम्म मनाउने गरिन्छ ।
पर्वको मुख्य दिन पर्सि शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालय लगायत सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताएका छन् ।
गाउँपालिकाले विक्रम संवत् २०७६ सालदेखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको हो । ताराखोलाको रुैथाने मगर समुदायले भुस पोल्ने पर्वलाई उल्लासका साथ मनाउने गरेको छ ।
सदियौंअघि पाल्पाको अर्गलीबाट बसाइँसराइँ गरी बागलुङ आएका मगरका पूर्वजले पर्वको चलन बसालेका छन् । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती सुरू गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको छ ।
पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कार लगायत सांस्कृतिक गतिविधि हुने गरेका छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । मगर समुदायले सयौं वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।