काठमाडौँ- नेकपा एमालेको १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट रु एक सय उठाउने निर्णय भएको जानकारी दिए। नेकपा एमालेको सदस्य सङ्ख्या सात लाख छ । यसबाट रु सात करोड उठ्ने अनुमान गरिएको छ ।
महाधिवेशन प्रतिनिधिबाट रु दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट रु तीन हजार उठाइने उनले जानकारी दिए । लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ । पाण्डेका अनुसार उनीहरूबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन ।
अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए । महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ । मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ ।
महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ ।
सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए । यसअघि नवौं महाधिवेशनमा रु ६ करोड र त्यसअघि आठौंमा रु तीन करोड खर्च भएको उनले जानकारी दिए ।
योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ । नेकपा एमालेको केन्द्रीय समिति २२५ सदस्यीय छ । तीमध्ये १५ पदाधिकारी रहेका छन् ।
पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ । उनीहरू महाधिवेशनबाट निर्वाचित हुने छन् ।
महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।