काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गरेका नेता माधवकुमार नेपाललाई नेकपा एकीकृत समाजवादी (एस) पार्टी खोलेको केही दिनमै धक्का लागेको छ ।
पार्टी विभाजनपछि एस पार्टी सोलुखुम्बुका नेता बनेका तेन्जी शेर्पाले अध्यक्ष माधव नेपालको पार्टीमा विद्रोह गर्दै नेकपा एमालेमै फर्किएका छन् ।
एस निकटको विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवालय सदस्य समेत रहेका शेर्पा र जिल्ला कमिटी सदस्य सोना शेर्पा एमालेमै फर्किएका छन् ।
विद्यार्थी राजनीतिमा सक्रिय र प्रभावशाली मानिएका शेर्पा विभाजनबाट बृहत् कम्युनिष्ट एकताको राष्ट्रिय आवश्यकता पूर्ति नहुने भन्दै एमालेमै फर्किएका हुन् । ‘बृहत कम्युनिष्ट एकताका लागि एमालेको विकल्प छैन,’ उनले भने, ‘फुट र विभाजनमा अल्मलिँदा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासको बाटो अवरुद्ध हुन्छ । सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय कार्यभार पूरा गर्न एमालेलाई बलियो बनाउनुपर्छ ।’
नेता शेर्पाले केही दिनभित्रै नेकपा एकीकृत समाजवादी निकटको सोलुखुम्बु जिल्ला कमिटी नै एमालेमा समाहित हुने दाबी समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।