काठमाडौं – उत्तरी छिमेकी देश चीनले नेपालमाथि गिद्धेदृष्टि राख्दै सीमा अतिक्रमण गरेको व्यापक जनगुनासोपछि गठित सीमा अध्ययन समितिले हिसाबकिताब निकालेर गृहमन्त्री बालकृष्ण खाँणको हातमा प्रतिवेदन बुझाएको छ ।
नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे समितिले अध्ययन गरेको हो ।
समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रमबीच गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका छन् ।
प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
गृहमन्त्री खाँणले भने, ‘यहाँहरुले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरुले औंल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’
विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन समितिलाई गृहमन्त्री खाँणले धन्यवाद दिएका छन् । अध्ययन प्रतिवेदन स्थानीय भू–भाग रक्षा गर्न र जनजीवनबारे बुझ्न महत्त्वपूर्ण हुने खाँणले बताएका छन् ।
प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन समितिका संयोजक समेत रहेका सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाँणलाई अवगत गराएका थिए । अध्ययन समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सहभागी रहेका थिए ।
मन्त्रिपरिषद् बैठकले गत भदौ १६ गते सीमा अध्ययनका लागि समिति बनाएको थियो गठन गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।