काठमाडौं – नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा लागेकी नेत्री रामकुमारी झाँक्रीको भाग्य चम्किने देखिएको छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेर बसेका बेला एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवालाई कार्यकारी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव ल्याएपछि नेत्री झाँक्रीको भाग्य चम्किने भएको हो ।
एस पार्टीमा नेत्री झाँक्रीले जबरजस्त हस्तक्षेप गर्दै स्थापित भइरहेकी छन् । दल दर्ताकै दिन समेत नेत्री झाँक्रीले अध्यक्ष नेपालको हात तानेर लगेको तस्वीर भाइरल भएको थियो ।
एस पार्टीमा जिल्ला–जिल्लामा कमिटी बनाउने अभियानमा समेत नेत्री झाँक्रीले सक्रिय सहभागिता जनाइरहेकी छन् । पछिल्ला गतिविधि र अध्यक्ष नेपालको प्रस्तावले नेत्री झाँक्री पार्टी नेतृत्वमै पुग्ने देखिएको छ ।
मंगलबार सुरु भएको एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी संगठनमा युवालाई कार्यकारी जिम्मेवारी दिने प्रस्ताव गरेका छन् ।
मंगलबारको प्रथम केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘अग्रजलाई सम्मान र युवालाई कार्यकारी जिम्मा’ भन्ने नारा उल्लेख गरिएको छ ।
‘संगठनका क्षेत्रमा युवाहरुलाई अगाडि बढाउन अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म वरिष्ठ कम्युनिस्ट परिषद् गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणाली निर्माण गरिने छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरुलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मूल्याकंन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अबलम्बन गरिने छ ।’
अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोडिने जनाएका छन् । पार्टीका प्रत्येक कमिटीले कम्तिमा वर्षको २ पटक पार्टी स्कूल/प्रशिक्षण दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।