काठमाडौं – पश्चिम नेपालको तराई क्षेत्रमा आज थारु समुदायले अटवारी पर्व मनाउँदैछन् ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा अटवारी पर्व धुमधामसँग मनाइँदैछ ।
अटवारी पर्वका लागि थारु बहुल क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ । कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया जिल्लामा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले अष्टमीपछि चन्द्रमा देखिने बित्तिकै अटवारी पर्व मनाउने गरेका छन् ।
अटवारी पर्व कृष्णा जन्माष्टमीको ८ दिनपछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ । सूर्य अर्थात् शक्तिको उपसनाको लागि पनि अटवारी पर्व मनाउने गरिएको छ ।
थारु समुदायका पुरुष अटवारीमा पानी पनि नखाई ब्रत बस्ने गर्छन् । आफ्ना लागि चोखो खानेकुरा आफैं पकाउने चलन रहेको छ । अटवारीमा रोटी, काँक्रा, दही, केराजस्ता स्थानीय परिकार खाने गरिन्छ । ती परिकार खानुभन्दा पहिला पूजा गर्ने परम्परा रहेको छ ।
भोलिपल्ट बिहान ५ वा ७ प्रकारका गेडागुडीयुक्त तरकारी, खाना खाइसकेपछि आफ्ना अग्रासन दिन जाने चलन रहेको छ । उनीहरू कोशेली छाड्न छोरीका घरमा पुग्ने गरेका छन् ।
अटवारी पर्वलाई सम्मान र आपसमा सद्भाव साटासाट गर्ने पर्वका रूपमा लिने गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।