जाजरकोट - अर्थमन्त्री जनार्दन शर्माले बालगृहमा भर्ना गरेका बालिका नै बलात्कारको सिकार बनेकी छन् । उनकै निर्वाचन क्षेत्र रुकुम पश्चिमका जनप्रतिनिधिका छोराले बालिकामाथि दुई वर्षदेखि जबर्जस्तीकरणी गरेको रहस्य खुलेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का वडाध्यक्ष गंगाराम चनाराका छोराले एक बालिकालाई जबर्जस्तीकरणी गरेको आरोप लागेको हो । गंगारामले पन्ध्र वर्षीया एक बालिकाको श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनारा (रवि) ले जबर्जस्तीकरणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छिन् ।
इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पीडित बालिकाले जबर्जस्तीकरणी उद्योगमा जाहेरी दिएको जानकारी दिए ।
कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको उनले बताए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन् ।
प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए । पीडित बालिकाले वडाध्यक्षका छोराले पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।
निवेदनमा बालिकाले दुई वर्षदेखि निरन्तर बलात्कार गरिएको र हाल पेटमा आठ दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए । २०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् ।
उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक विद्यालय भर्ना गरेका थिए ।
जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट–१० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन् । वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ ।
‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा (रवि) ले पछाडिबाट आएर मुख थुनी जबर्जस्तीकरणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन् ।
नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ । उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।