काठमाडौं – निवर्तमान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई यत्तिकै नछाड्ने भएको छ ।
एमालेले सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै कडा ‘एक्सन’ लिएको छ ।
एमालेले कारवाही गरेका १४ जना सांसदको पद सभामुख सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा समेत निर्वाचन आयोगले ती सांसदलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको आरोप एमालेले लगाएको छ ।
लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका २ जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध समेत एमालेले मुद्दा दर्ता गराएको छ ।
लुम्बिनी प्रदेश सभाका सांसद विमला वली, अजय शाहीलाई समेत कारवाही गर्ने निर्णय एमालेले गरेको थियो । शाही र वली सूर्य चिह्नबाट निर्वाचित सांसद रहेका छन् ।
नेकपा एमालेले साउन २५ गतेको केन्द्रीय कमिटीको बैठकबाट नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको पत्र भदौ १ गते संसद् सचिवालयमा दर्ता गराएपनि कारवाही गरिएको थिएन । एमालेले निर्वाचन आयोगलाई समेत १४ सांसदलाई कारवाही गरेको जानकारी गराएको थियो ।
तर सभामुख अग्निप्रसाद सापकोटाले सांसदको पद रिक्त भएको सूचना टाँस नगरेर पार्टी विभाजनमा सहयोग गरेको आरोप एमालेले लगाएको छ । सम्बन्धित दलले सांसदलाई कारवाही गरेर दिएको सूचना सभामुखले १५ दिनसम्म विचाराधीन अवस्थामा राख्नसक्ने कानूनी प्रावधान भएपनि ढिलाइ गरेकोप्रति एमालेले आपत्ति जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।
अन्य पार्टीका सांसदलाई कारवाही गर्दा सभामुख सापकोटाले तत्कालै पद रिक्त भएको सूचना जारी गरेको तर एमालेले कारवाही गर्दा सूचना टाँस नगरेर पार्टी विभाजनमा सहयोग गरेकाले सभामुखको भूमिका निष्पक्ष नदेखिएको आरोप एमालेले लगाएको छ ।
एमालेले भदौ १ गते कारवाहीको सूचना दिए पनि एमालेबाट छुट्टिएको माधव नेपाल पक्ष भदौ २ गते नयाँ दल दर्ताको लागि निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । पार्टीले कारवाही गरिसकेको सांसदलाई नयाँ पार्टीको पक्षमा सनाखत गराएर निर्वाचन आयोगले समेत कानून विपरीतको काम गरेको एमालेको आरोप रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।