काठमाडौं – नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका अध्यक्ष माधवकुमार नेपालको पक्षमा २०% सांसद नपुग्ने देखिएको छ ।
अध्यक्ष नेपालले आफूसँग एमालेबाट निर्वाचित ३१ सांसद रहेको दाबी निर्वाचन आयोगमा पेश गरेको निवेदनमा गरेका छन् । तर आयोगमा भोलि बुधबार हुने सनाखतमा सबैको हस्ताक्षर गराउन नसक्ने भएपछि संख्या नपुग्ने भएको हो ।
नेकपा एमालेसँग प्रतिनिधि सभामा १२१ सांसद र राष्ट्रिय सभामा ३३ जना रहेका छन् । कूल १५४ जना सांसदको २० प्रतिशत ३१ जना हुन्छ ।
निर्वाचन आयोगमा अध्यक्ष नेपालले ३१ सांसदको नामावली दिए पनि वरिष्ठ नेता झलनाथ खनालसहित ३ जनाको हस्ताक्षर छुटेको जनाइएको छ ।
वरिष्ठ नेता खनाल उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका छन् भने एक जना सांसदले दुई ठाउँमा हस्ताक्षर गरेका छन् भने एक जना राष्ट्रियसभा सदस्यको नाम भएपनि हस्ताक्षर गरिएको छैन । हस्ताक्षर गर्न छुटाएकाले पछि हस्ताक्षर गर्न नपाइने आयोग स्रोतले जनाएको छ ।
वरिष्ठ नेता खनालले दिल्लीस्थित अस्पतालबाटै सनाखत गरिनुपर्ने निवेदन आयोगमा दिएपनि त्यस्तो गर्न नसकिने आयोगले जनाएको छ । आयोगमै उपस्थित भएर सनाखत गर्नुपर्ने नियम आयोगले बनाएको छ ।
आज मंगलवार ४ जना सांसदहरू आयोगमा उपस्थित भएर आफूहरू नयाँ पार्टीको पक्षमा सनाखत गर्न खोजेको भए पनि नहुने आयोगले जनाएको छ । दल दर्ताको निवेदन दिँदा भएको हस्ताक्षर मात्रै मान्य हुने आयोगले जनाएको छ ।
सांसदका आधारमा २०% नपुगे पनि केन्द्रीय सदस्यको २०% पुगेका आधारमा नयाँ पार्टी दर्ता हुनसक्ने आयोगले जनाएको छ ।
नेकपा एमालेका २०३ जना केन्द्रीय कमिटी सदस्य कायम रहेकोमा २० प्रतिशत ४१ जना हुन्छ । अध्यक्ष नेपालले एमालेका ५८ जना सदस्य नामावली र ५५ जनाको हस्ताक्षर आयोगमा बुझाएका छन् । यसरी पार्टी केन्द्रीय सदस्यको आधारमा नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनेछ ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाचित केन्द्रीय कमिटी र सांसदहरूको संख्या बढी रहेकाले दल दर्तामा कुनै कानूनी झमेला नरहेको जनाएकी छन् । उनले ट्विटरमा लेख्दै संख्या अपुग नभएको बताएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।