काठमाडौं – प्रत्येक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्राको अवसरमा आज देशभर रहेका नेवार समुदायलाई सार्वजनिक बिदा दिइएको छ ।
विगतका वर्षमा उपत्यकामा मात्रै बिदा हुने गरेको भएपनि यसपालि सरकारले देशभरका नेवार समुदायलाई बिदा दिने निर्णय गरेको छ ।
गाईजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । १ वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।
यसरी नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास रहेको छ ।
तत्कालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनेर आज्ञा दिएका आधारमा गाईजात्रा पर्व शुरू भएको ऐतिहासिक तथ्य रहेको छ ।
राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा हालसम्म जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यका काठमाडौंमा विशेष रौनक देखिने गरेको छ । तर कोरोना भाइरस संक्रमणको महामारी सुरू भएयता गाईजात्राको रमाइलो घटेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।