काठमाडौं - पदको लोभमा अन्तिम समयमा आएर भीम रावल र अष्टलक्ष्मी शाक्यले माधव नेपालको साथ छाडेपछि अहिले यी दुई नेता निकै चर्चामा छन् ।
नेकपा हुँदा होस् वा त्यसपछि एमालेमा होस् केपी ओलीको आलोचना गर्नेमध्ये रावल र शाक्य अग्रपंक्तिमा थिए । रावल र शाक्यकै सल्लाहमा माधव नेपाल चल्ने गर्थे ।
तर, जब ओलीले प्रधानमन्त्री भएका बेला रावललाई बालुवाटारमा बोलाएर कार्यबाहक अध्यक्षको ललिपप देखाए त्यहाँदेखि भीम रावल तर्किँदै गएका हुन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले बालकोटमा बोलाएर शाक्यलाई मुख्यमन्त्रीको आश्वासन दिएपछि उनी पनि माधव नेपालबाट टाढै रहन थालेकी हुन् । अन्ततः शाक्य बुधबार राति बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइसकेकी छन् ।
नेकपा हुँदा रावल र शाक्यले ओलीलाई सभा सम्मेलनमा व्यापक आलोचना गरेको, गाली गरेको भिडियो अहिले पुरानो भइसकेको छैन । शाक्यले त ओलीलाई कम्युनिस्ट नै नभएको भन्दै आलोचना गर्थिन् । अहिले मुख्यमन्त्रीको लोभमा सर्लक्क ओलीको टाङमुनि छिरेको भन्दै माधव पक्षले आलोचना गरेको छ ।
जति चर्को स्वर उति डरपोक भन्ने उखान अहिले यिनै रावल र शाक्यमा लागू हुन्छ । हिजो माधव नेपालभन्दा पनि अघि बढेर ओलीको आलोचना गर्ने रावल र शाक्य अहिले उनलाई नै नेता मान्न पुग्नुले यी दुवैसँग रामकुमारी झाँक्री जतिको पनि अडान रैनछ भन्ने स्पष्ट हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।