काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालमा अल्पमतमा परेका नेता महन्थ ठाकुरलाई सघाउने भएका छन् ।
जसपा नेता ठाकुरले दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका छन् ।
मंगलवार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित ४ नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री देउवासँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाँडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका छन् ।
‘महन्थ ठाकुर सहितका नेताहरू बालुवाटार आउनुभएको थियो । खासगरी उहाँहरूले जसपाको आधिकारिकता नपाएपछि अप्ठ्यारोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ बालुवाटार स्रोतले जानकारी दियो ।
देउवा सरकारले सोमबार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ । खासगरी नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई सहयोग पुग्ने गरी देउवा सरकारले अध्यादेश ल्याउन लागेको चर्चा छ । त्यसैबाट नेता ठाकुर पक्षलाई समेत सहयोग पुग्ने देखिएको छ ।
देउवा सरकारले ठाकुर पक्षलाई सहयोग पुग्ने गरी अध्यादेश ल्याउन थालेपछि सत्तारुढ गठबन्धनमै रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पक्षलाई झड्का लाग्ने भएको छ ।
जसपा दल विभाजन भएर आधिकारिकता पाएमा यादव पक्षबाट मन्त्री हुन नपाएका असन्तुष्ट नेताहरू समेत ठाकुर पक्षमा लाग्नसक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् । पार्टीलाई घाटा हुने गरी दल विभाजन अध्यादेश आउन लागेपछि यादव पक्षले आपत्ति जनाउन थालेको छ ।
जसपा नेता डम्बर खतिवडाले ट्विटरमा लेखेका छन्, ‘दल विभाजन अध्यादेश ल्याउने हल्ला यदि सत्य भए त्यो ओलीतन्त्रकै अर्काे किस्ता हो । ओली र देउवा एउटै सिक्काका गाई कि त्रिशूल हुन भन्ने पुष्टि हो । संसदीय प्रणाली सबैलाई घाँडो सावित भएको भए राष्ट्रिय सहमतिमा शासकीय स्वरुप परिवर्तन गरौं । संसदीय विकृति बारम्बार नदोहोर्याउँ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।