काठमाडौं – दार्चुलामा तुइनबाट खसेको घटनाको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मी सहितको टोली घटनास्थलमा पुगेको छ ।
गृह मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको छानबिनको लागि स्थानीय प्रशासनलाई निर्देशन भएको जनाएको छ ।
गृहको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
गृह मन्त्रालयले विज्ञप्तिमार्फत स्थलगत अनुगमनमा गएको टोली फर्किएपछि सत्यतथ्य सूचना बाहिर आउने भन्दै सो अघि भ्रामक सूचना प्रसारण नगर्न सबैलाई अपिल गरेको छ ।
शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेपछि स्थानीय जयसिंह धामी बेपत्ता भएको प्रचार भइरहेका बेला गृह मन्त्रालयले भने अध्ययन भइरहेको र भ्रम नफैलाउन आग्रह गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।