काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यतासम्बन्धी विवादहरुलाई टुग्याउनका लागि गठित कार्यदलले काम पूरा गर्न नसकेर मंगलबार प्रतिवेदन तयार गर्यो । उक्त प्रतिवेदन अनुसार अझै चार जिल्लाको क्रियाशील विवाद कायमै रहेको छ ।
काम गर्न नसकेको आरोप लागको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकलाई भने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फेरि अर्को जिम्मेवारी दिइसकेका छन् । उनलाई सरकार सञ्चालनका लागि बनेको सत्तापक्षीय दलहरुको कार्यदल सदस्यमा पनि लेखकलाई जिम्मेवारी तोकिएको छ । एकतिरको काम अधुरै छोडेका लेखकलाई अर्कोतर्फको जिम्मा दिइएको हो ।
पार्टीभित्र सुरुदेखि जिम्मेवारीविहीन बनेका अन्य योग्य नेताहरु हुँदाहुँदै पनि देउवाले लेखकलाई अघि सार्दा उनको समूहभित्र नै आलोचना भइरहेको छ । क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय लेखकले आफ्नो भाइ दिपक लेखक म्यानेजर रहेको तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा राखिएको छ । काठमाडौंका पाँच तारे होटल जत्तिकै महँगो रहेको उक्त धर्मशालामा कार्यालय छ भने त्यही खाना, चिया नास्तादेखि बसोबासको पनि सुविधा रहेको छ ।
उक्त धर्मशालाका म्यानेजर दिपक लेखक समितिका संयोजक रहेका रमेशका भाइ हुन् । उनले भाइलाई कमिसन आउने भएकोले पनि समिति कार्यालय उक्त धर्मशालामा नै स्थापना गरेको आरोप लगाइएको छ । समितिका अन्य सदस्यहरुले बैठक पार्टी कार्यालयमा बस्नुपर्ने र पार्टीको खर्च कम हुने बताए पनि लेखककै जोडबलमा समितिको बैठक धर्मशालामा बसिरहेको छ । धर्मशालाकै एक अधिकारीका अनुसार हालसम्मको खाना खर्चमात्रै ६० लाख उठेको बताइएको छ ।
उक्त रकम भुक्तान गर्न बाँकी रहेको बताइएको छ । यसअघि लेखकले समितिका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न ४० लाख पेश्की माग गरेका थिए । त्यसअघि नै पार्टीले पेश्कीरुवरुप समितिलाई १५ लाख रुपैयाँ बुझाएको थियो ।
एक करोडभन्दा बढी खर्च, काम अधुरै
समितिले क्रियाशील सदयस्ता छानबिनकै नाममा एक करोड २० लाखभन्दा बढी खर्च गरे पनि काम भने पूरा गर्न सकेको छैन । लेखेक संयोजक रहेको समितिले काम गर्न नसकेपछि क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो ।
नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् । करिब ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसको यो विवाद टुंग्याउन पटक पटक म्याद थप गर्दा पनि केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।
देउवाले विश्वास गरेका पात्र लेखकले नै देउवालाई नै आलोचित हुने गरि काम गरिरहँदा पनि देउवाले फेरि फेरि उनीहरुलाई नै जिम्मेवारी दिने गरेका छन् । जसका कारण पार्टीभित्रै देउवाको आलोचना हुने गरेको छ । तर, पछिल्लो समय निकै संवदेनशील समय भएकालेले योग्य र काम गर्नसक्ने व्यक्तिहरुलाई सल्लाहकारमा नियुक्त गरे अघि बढ्न देउवालाई सुझाव दिनेहरुको संख्या पनि बढेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।