काठमाडौं - निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि अहिले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा पूरै सन्नाटा छाएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्रले कसरी आफ्नो पक्षमा (३४जना) बहुमत जुटाए भन्ने तथ्य विस्तारै खुल्दै गएको छ ।
ठाकुर पक्षबाट अन्तिम समयमा राजकिशोर यादव, मनिष सुमन, गोविन्द चौधरी, नरमाया ढकालले साथ छाडेका थिए । उनीहरूले यसरी कित्ता परिवर्तन गर्लान् भन्ने ठाकुर र महतोले कल्पनासमेत गरेका थिएनन् ।
तर, समानुपातिक सांसद नरमाया ढकालले उपेन्द्र यादवलाई साथ दिनुको रहस्य आफ्नो दाजुको पदमा थमौती रहेको खुलेको छ । स्रोतका अनुसार ढकाललाई जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले समानुपातिक सांसदमा मनोनीत गरेका थिए ।
जग्गा कारोबारमा अकूत सम्पत्ति कमाएपछि सांसद बन्ने उनको रहर महतोले पूरा गरिदिएका थिए । महतोलाई सहयोग गरी उनी सांसद भएकी थिइन् । अन्तिममा आएर उनले उपेन्द्रलाई साथ दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जसपा सहभागी हुँदैछ । नरमायाले जसपा अध्यक्ष यादवसमक्ष पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालको म्याद सकिन लागेकाले उनलाई निरन्तरता दिने सर्त राखेको र यादवले ढकाललाई निरन्तरता दिने सर्त स्वीकार गरेकाले उनले ठाकुर र महतोलाई छाडेर उपेन्द्रलाई साथ दिन पुगेको स्रोतले बताएको छ ।
प्रदीप ढकाल सांसद नरमायाका दाजु हुन् । उनको पदावधि आगामी साउन ३० गते सकिँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।