काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
जसपाको तत्काल कायम रहेको सांसद संख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
जसपाका कार्यकारिणी सदस्य तथा सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको बताए ।
उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाउने शर्तसहित सरकारमा सहभागिता जनाउने निर्णय बैठकले गरेको छ । पुनःस्थापित प्रतिनिधि सभाको बैठक आईतवार अपराह्न बस्दैछ ।
जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुंगो लागेको छैन । आयोगले आइतवारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र ३ दिनभित्र निर्णय आउने जनाइएको छ ।
जसपा यादव पक्षको शनिबारको बैठकमा १७ संघीय सांसद र ३ राष्ट्रिय सभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले जानकारी दिए ।
जसपाका दुबै सदनका सांसदको संख्या ३५ रहेको छ । प्रतिनिधिसभा सांसद ३२ र राष्ट्रिय सभामा ३ सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आएको दाबी गरिएको छ ।
सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्व बिदा लगायत विषयलाई शर्त बनाउने भएको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमवार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।