काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउने बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग लफडा परेको घटना सेलाउन नपाउँदै अर्काे निहुँ खोजिएको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीवार नियुक्त गरिएका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शितलनिवासमा गर्न राष्ट्रपति भण्डारीले निषेध गरेकी छन् ।
राष्ट्रपतिबाट नियुक्त गरिने महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको छ । तर भण्डारीले देउवाको सिफारिसमा नियुक्त खातीका सन्दर्भमा निहुँ खोजेकी छन् ।
राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ताको शपथ कार्यक्रम राख्न अनिच्छा देखाएकी स्रोतले जनाएको छ । भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको बहाना झिक्दै सर्वोच्च अदालतमै शपथ गराउन जवाफ दिएकी छन् । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र समेत गरेको छ ।
महान्यायाधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको बताएका छन् ।
यसअघिका महान्यायधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने परम्परा रहेको छ । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालको शपथ समेत राष्ट्रपति कार्यालयमै प्रधानन्यायाधीशले गराएका थिए ।
राष्ट्रपति कार्यालयले यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शितलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।