काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का नेताहरू अब सँगसँगै अघि बढ्न नसक्ने निर्णयमा पुगेका छन् ।
निर्वाचन आयोगले जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आन्तरिक विवाद मिलाउन भन्दै छलफलका लागि बोलाएको थियो ।
तर, आयोगका प्रमुख आयुक्त, आयुक्तसहित जसपाका नेताहरूबीच भएको छलफलपछि आजै आयोगमा नेताहरूले सँगै अघि बढ्न नसक्ने भन्दै अलग गराइदिन भन्दै माइन्युटमा हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षका नेता मनिष सुमनले जानकारी दिए ।
निर्वाचन आयोगमा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूले पार्टी विभाजन हुने निश्चित भएको जनाएका छन् ।
पार्टीभित्र विवाद रहेका बेला निर्वाचन आयोगले छलफलका लागि मंगलबार बोलाएको थियो ।
छलफलमा सहभागी नेताहरूले अब मिल्न नसकिने भएकाले पार्टी विभाजन गरिदिए आयोगलाई आग्रह गरेका छन् ।
जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो एकातिर र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई अर्काेतिर रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहकार्य गर्ने विषयमा विवाद बढेर जसपा विभाजित भएको छ ।
विवाद बढेर ठाकुर र यादव पक्षले एकअर्कालाई कारवाहीको शृंखला सुरु गरेका थिए । २०७७ बैशाख १२ गते यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।