आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपा दुई टुक्रामा विभाजित हुँदै, नयाँ दल खुल्दै 

जसपा दुई टुक्रामा विभाजित हुँदै, नयाँ दल खुल्दै 

  • मिडिया डबली
  • शनिवार, जेठ २९ २०७८

  • 6.3K
    SHARES

  • जसपा दुई टुक्रामा विभाजित हुँदै, नयाँ दल खुल्दै 

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष नयाँ दल दर्ता तयारीमा जुटेको छ ।

    जसपामा अल्पमतमा रहेका ठाकुर र महतो पक्ष निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको छ ।

    जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए तर तत्कालीन राजपाका तर्फबाट कार्यकारिणी समितिमा रहेका नवलकिशोर साह, रामनरेश यादव, महेन्द्रराय यादव, रमेश यादव, मृगेन्द्रकुमार सिंह यादव र गजाधर यादवले अन्तिम समय ठाकुर र महतोको साथ छोडिदिएका छन् ।

    जसपा नेताका अनुसार ठाकुर पक्ष अल्पमतमा परेपछि नयाँ दल दर्ता तयारीमा रहेको छ । ‘कार्यकारिणी समितिमा अल्मतमा परेपछि ठाकुर र महतोजीहरु नयाँ दल दर्ताका लागि आन्तरिक तयारीमा हुनुहुन्छ,’ जसपा स्रोतले भन्यो ।

    उपप्रधामन्त्री समेत रहेका महतोनिकट साह २ नम्बर प्रदेशमा सामाजिक विकासमन्त्री छन् । महेन्द्रनिकट रामनरेश पनि २ नम्बर प्रदेशमा वन तथा वातावरणमन्त्री छन् । महेन्द्र निकटका रमेश जसपा उपेन्द्र यादव पक्षमा पुगेका छन् ।

    संघीय सरकारमा उद्योग तथा वाणिज्यमन्त्रीमा नियुक्त राजकिशोर यादवनिकट गजाधर उपेन्द्र पक्षमा गएका छन् ।

    स्रोतका अनुसार राजपाबाट कार्यकारिणी समितिमा रहेका ६ नेता उपेन्द्र पक्षमा पुगेपछि ठाकुर र महतो पक्ष अल्पमतमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने कि नहुने भन्ने विवादले पार्टीभित्र चर्को बहस भएको थियो । तर ठाकुर र महतो समूह सरकारमा सहभागी भएपछि पार्टी पनि विभाजन भएको छ ।

    विवाद चर्किंदै गएपछि एकअर्कालाई स्पष्टीकरण सोधेर अनुशासनको कारवाही समेत गरिएको छ । गत जेठ १८ गते उपेन्द्र समूहले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा सोही दिन उपेन्द्रलाई समेत ठाकुर पक्षले कारवाही गर्‍यो । दुबै पक्षले एकअर्कालाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारवाही गरेर निर्वाचन आयोगलाई पार्टी अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिए ।

    गत जेठ १९ गते आयोगले दुबै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरूप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फाराम समेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । तर ठाकुर पक्षले सोबमोजिम निवेदन पेश गर्न सकेको छैन ।

    अनुसूची १८ मा दल विवरण हेरफेर गर्नुपर्ने भएमा सो ढाँचाअनुसार निर्वाचन आयोगमा लेखी पठाउनुपर्ने व्यवस्था रहेको छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकमा उपस्थित सदस्यको हस्ताक्षर सहितको माइन्युट समेत आयोगमा पेश गर्न भनेको थियो ।

    यादवले भने केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारवाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फाराम मात्रै भर्न भन्यो । यादवले गत जेठ २० गते नै भरेर बुझाइसकेका छन् ।

    बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको छ ।

    ठाकुर पक्षले आयोगले भने बमोजिम पत्र पेश गर्न नसकेपछि गत जेठ २३ गते १ हप्ताको समय माग गरेको छ । ठाकुर पक्षले मागेको समय शुक्रवार सकिएको छ ।

    जसपा संसदीय दलमा ठाकुर र महतो पक्षको बहुमत रहेको थियो । २० सांसदसहित बहुमतमा रहेको ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । 

    तर प्रतिनिधिसभा विघटन भएकाले अब कार्यकारिणी समितिमा अनिवार्य बहुमतसिद्ध गर्नुपर्ने हुन्छ । यद्यपि कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहेकाले ठाकुर र महतो पक्षले नयाँ दल दर्ता गर्नुपर्ने भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend