काठमाडौं – विपक्षी राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयको चर्काे विरोध गरिरहेका बेला राष्ट्रपति कार्यालय शितलनिवासको वेबसाइटको गृहपृष्ठबाट विघटन सम्बन्धी निर्णयको जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्ति ‘डिलिट’ गरिएको छ ।
शुक्रबार ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ जारी गरिएको विज्ञप्ति र शनिवार ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ सम्बन्धमा जारी गरिएका दुबै विज्ञप्ति वेबसाइटको गृहपृष्ठबाट डिलिट गरिएको हो ।
शनिवार साँझबाटै ती विज्ञप्तिहरू डिलिट गरिएको स्रोतले जनाएको छ । आधिकारिक निर्णय भएर सार्वजनिक गरिएका विज्ञप्तिहरू वेबसाइटबाट किन डिलिट गरिए ? चासोका साथ हेरिएको छ ।
‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ जारी प्रेस विज्ञप्तिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले संविधानको धारा ७६ उपधारा (५) अन्तर्गत प्रधानमन्त्रीमा गरेको दाबीलाई अस्वीकृत गरिएको जानकारी थियो ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो, ‘दाबीकर्ता दुबै माननीय सदस्यहरुका समर्थनकर्ता भनिएका सदस्यहरु एकअर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिँदै दाबीकर्ता दुबै माननीय सदस्यहरुले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उपधारा (५) बमोजिमका दाबीकर्ता दुबै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’



शनिवार प्रकाशित दोस्रो विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गरिएको र निर्वाचनको मिति तोकिएको जानकारी थियो । ‘वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मंसिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ,’ घिमिरेले नै जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।