काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा खुब लेख्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा वरिष्ठ नेता राजेन्द्र महतोले नयाँ ट्वीस्ट ल्याएका छन् ।
पार्टी एकीकरण भएको लामो समयसम्म संसदीय दलको नेता चयन हुन नसकेकोमा जसपा अध्यक्ष महन्थ ठाकुरसँग मिलेर राजेन्द्र महतो सुटुक्क दल नेता चयन भएका छन् ।
जसपाको ठाकुर–महतो पक्षका २० सांसदको सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको सांसद प्रमोद साहले जानकारी दिए । आईतवार संसद सचिवालयमा दल नेता चयनबारे जानकारी गराउने तयारी भएको जनाइएको छ ।
जसपामा ठाकुर–महतो समूहसँग पहिल्यैदेखि १६ जना सांसद रहेकोमा उपेन्द्र यादव पक्षका ४ जना सांसदलाई आफ्नो कित्तामा पारेर २० सांसद पुर्याइएको साहले दाबी गरेका छन् ।
‘अहिले हामीसँग २० जना सांसद हुनुहन्छ । थप एक जना सांसदले पनि आउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भने ।
अध्यक्ष ठाकुर निकट नेता डा. सुरेन्द्र झाले समेत सहमतिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी दिए ।
अर्का अध्यक्ष उपेन्द्र यादव समूहका सांसद रामसहाय यादवले महतोलाई संसदीय दलको नेता चयन गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । ‘कहिले संसदीय दलको बैठक बस्यो र कुन आधारमा महतोजी संसदीय दलको नेता चयन हुनुभयो । यसबारेमा मलाई थाहा छैन,’ उनले भने ।
सामाजिक सञ्जालमा आदर्शका कुरा गर्ने डा. भट्टराई जसपामा नेता राजेन्द्र महतोले नयाँ ट्वीस्ट ल्याइसक्दा समेत गुमनाम छन् । ओलीलाई जसरी पनि हटाउनुपर्ने अभिव्यक्ति दिने गरेका भट्टराईले आफ्नै पार्टीका अध्यक्ष ठाकुर र नेता महतोलाई विपक्षी गठबन्धनमा सामेल गराउन सकेका थिएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।