काठमाडौं – कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका प्रभावशाली नेता तथा बागमती प्रदेशसभा सांसद पशुपति चौलागाईको निधन भएको छ ।
उपचारका क्रममा मंगलवार साँझ मनमोहन मेमोरियल अस्पतालमा पशुपतिको निधन भएको छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका एमाले नेताले चौलागाईको निधनको पुष्टि गर्दै श्रद्धाञ्जलि दिएका छन् ।
सांसद चौलागाईले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
दोलखा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (२) बाट निर्वाचित सांसद चौलागाई एमालेका पोलिटब्युरो सदस्य रहेका थिए ।
उनी २०५६ सालको संसदीय निर्वाचनमा दोलखा १ बाट निर्वाचित बनेका थिए । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक कोटाबाट उनी निर्वाचित भएका थिए । प्रदेशको चुनावपछि उनलाई बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा पनि प्रबल दाबेदार मानिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।