काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदलाई ‘हाईअलर्ट’ राखिएको छ ।
लुम्बिनी प्रदेश सभाका ४ सांसदलाई पदमुक्त गरिएपछि उत्पन्न विवाद उत्कर्षमा पुगेपछि जसपाका शीर्ष नेताहरू पार्टीमा बहुमत जुटाउन सक्रिय भएका छन् ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा पार्टी एकता कायम रहने सम्भावना कमजोर देखिएपछि अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर आ–आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय देखिएका छन् ।
आईतवार साँझ बसेको अनौपचारिक बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसद र केन्द्रीय कार्यकारीणी सदस्यलाई राजधानी काठमाडौं उपत्यका नछोड्न र बाहिर रहेकाहरूलाई तत्काल काठमाडौं फर्कन दिर्नेशन दिएका छन् ।
‘जुनसुकै बेला छलफल गर्न पर्नसक्ने भएकाले उपत्यकामा भएकालाई नछाड्न र उपत्यका बाहिर भएका सांसदहरूलाई काठमाडौं आउन निर्देशन आएको छ,’ उनले भने, ‘फोन, एमएमएस गरेर बोलाइएको छ, सबै जम्मा भएपछि बैठक बस्नेछ ।’
जसपा अध्यक्षहरू उपेन्द्र यादव, डा. बाबुराम भट्टराई भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको पक्षमा रहेका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली सरकारको पक्षमा देखिएका छन् ।
जसपाको माग ओली सरकारले सम्बोधन गरिरहेको भन्दै अध्यक्ष ठाकुर र महतो पक्ष ओलीको निरन्तरताको पक्षमा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।