काठमाडौं – सत्ता समीकरणको तानातानमा परेको जनता समाजवादी पार्टी (जसपा) भित्र बैठकको विषयलाई लिएर विवाद भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलवार बसेको शीर्ष नेताको बैठकमा कार्यकारी समिति बैठक बस्ने विषयमा सहमति नहुँदा विवाद भएको हो ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने भनेर गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरिदिएका छन् ।
स्रोतका अनुसार शीर्ष नेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरे तर ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिए ।
‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले भन्यो, ‘तर उहाँहरुको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो । अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’
बैठकमा डा. भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । शीर्ष नेताको बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकिएको स्रोतले जनाएको छ ।
सरकार निर्माणका विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्नेमा बैठक नै नबस्ने अवस्थाले जसपा अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।
जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले पार्टी कार्यालयमा शीर्ष नेताबीच अनौपचारिक कुराकानी मात्रै भएको बताएका छन् । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्ने भए पनि कोरोना तथा लकडाउनका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ ।
स्रोतका अनुसार ठाकुर र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छ । तर डा. भट्टराई, यादव, राई पक्ष ओलीइतरको गठबन्धन सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको छ ।
सत्ता समीकरण विषयलाई लिएर २ धु्रवमा विभाजित जसपा भट्टराई, यादव र राई पक्षले ओली नेतृत्वको सरकारसँग कुनै पनि हालतमा सहकार्य नगर्ने अडान लिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँग मिलेर ओली सरकारविरुद्ध अविश्वास ल्याएर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा भट्टराई–यादव पक्ष रहेको छ । तर ठाकुर र महतो पक्षले मधेशका मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले समर्थन गर्नुपर्ने अडान लिएको छ ।
ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण भट्टराई, यादव र राई पक्षको माग अस्वीकृत हुँदै आएको छ ।
‘सत्ता समीकरणको खेलमा जसपा लाग्दैन, ओली सरकारविरुद्ध अहिलेसम्म अविश्वास प्रस्ताव ल्याउने निर्णय कांग्रेस, माओवादी केन्द्रले गरेकै छैनन्,’ जसपा स्रोतले भन्यो, ‘अर्कोतर्फ अविश्वास प्रस्तावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय समेत टुंगो लागेको छैन ।’
नेकपा एमाले र जसपाले गठन गरेको कार्यदलबीच निरन्तर छलफल जारी छ । छलफल क्रममा जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली तयार देखिएका छन् ।
जसपाको विभिन्न मागमध्ये मधेश आन्दोलनका क्रममा लागेका कतिपय राजनीतिक मुद्दा मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिएर मधेशका मागप्रति ओली सकारात्मक रहेको संकेत गरिसकेको जसपा कार्यकारिणी समितिका एक सदस्यले बताएका छन् ।
जसपाले प्रस्तुत गरेको २६ थान मुद्दामध्ये ओली सरकारले २२ थान मुद्दा फिर्ता लिएको छ । बाँकी ४ वटा प्राविधिक काम पूरा गर्नुपर्ने भएकाले त्यो पनि फिर्ता लिने प्रक्रियामै रहेको छ ।
मधेश आन्दोलन क्रममा लागेका राजनीतिक मुद्दा मन्त्रिपरिषद् बैठकबाटै फिर्ता भइरहेकाले आफूहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको जसपा नेताले बताएका छन् ।
२२४ प्रतिवादी रहेको २६ थान मुद्दाको फाइल सरकारसमक्ष प्रस्तुत भइसकेको छ । तीमध्ये ११९ प्रतिवादी रहेको २२ वटा मुद्दा मन्त्रिपरिषद् बैठकबाटै फिर्ता भइसकेको दाबी जसपा नेताको रहेको छ । तर सरकारले भने मुद्दा फिर्ताबारे केही सार्वजनिक जानकारी दिएको छैन ।
जेलमा रहेका जसपा सांसद रेशम चौधरीको मुद्दा समेत फिर्ता लिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्दै प्रक्रिया अघि बढाइसकेको जसपा नेताहरूको दाबी रहेको छ । जसपाले उठाउँदै आएको माग सम्बोधन हुने क्रममा रहेकाले बिस्तारै भट्टराई, यादव र राई पक्ष समेत ओली सरकारकै पक्षमा खुलेर आउने ठाकुर र महतो पक्षका नेताहरूको विश्वास रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।