काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किरहेका बेला माधवकुमार नेपाल पक्षलाई अर्काे धक्का लागेको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नसक्ने सम्भावित कारवाही रोक्न माग गर्दै नेता नेपालले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।
नेता नेपालले आफ्नो पक्षका सांसदमाथि कुनै पनि कारवाही नगर्न अन्तरिम आदेश माग गरेका थिए । तर सर्वाेच्च अदालतले कारवाही नगर्न अन्तरिम आदेश दिन आवश्यक नभएको ठहर गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि कारवाही सम्बन्धी कुनै निर्णय नगर्न अन्तरिम आदेश दिन नेपाल पक्षले माग गरेको थियो । सर्वाेच्चले अन्तरिम आदेश नदिएपछि अब ओली निवास बालुवाटारमा सन्तोष छाएको छ भने नेपाल पक्षमाथि कारवाही गर्न सकिने भएको छ ।
निर्वाचन आयोग, नेकपा एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वाेच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबाट वैशाख ६ गते नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएपछि अदालतमा रिट दायर गरिएको थियो । यसअघि अध्यक्ष ओलीले नेता नेपाल सहितलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरिसकेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।