काठमाडौं – देशमा कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला सरकारी स्वामित्वका अस्पतालले पीसीआर परीक्षणको शुल्क तोक्न थालेका छन् ।
कोरोना महामारीको गम्भीर संकटमा फसेको बाँकेको नेपालगञ्ज क्षेत्रमा रहेको भेरी अस्पतालले आईतबार एक सूचना प्रकाशित पीसीआर परीक्षणको शुल्क तोकेको हो ।
अस्पतालको सूचनामा पीसीआर परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । सर्वाेच्च अदालतले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न आदेश जारी गरेको भएपनि सरकारी अस्पतालले फेरि शुल्क लिन थालेका छन् ।
अस्पतालको सूचनामा उल्लेख छ, ‘विगत केही दिनदेखि यस अस्पतालमा कोभिड–१९ निदानको निम्ति आरटी–पीसीआर जाँच गराउन आउने सेवाग्राहीहरूको चाप बढिरहेको छ । जाँच गरिएकामध्ये अधिकांशको नतिजा पोजेटिभ पाइएको पनि विदितै छ । नेपाल सरकारबाट किट र अन्य रियाजेन्ट पर्याप्त मात्रामा उपलब्ध नहुने हो भने निःशुल्क परीक्षण आर्थिक हिसाबले दीगो हुन नसकी परीक्षण नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । अतः २०७८ बैशाख ६ गते सोमवारदेखि भेरी अस्पतालको ओपीडी वा इमरजेन्सी विभागको ड्यूटीमा भएका चिकित्सकले लक्षण भएका सेवाग्राहीलाई आरटी–पीसीआर जाँच गर्न सिफारिस गरिएकोबाहेक अन्य सेवाग्राहीले स्वेच्छिक रूपमा आरटी–पीसीआर गराउन चाहेमा रु. १०००/– (एक हजार मात्र) शुल्क लाग्ने व्यहोरा सबैमा जानकारी गराउँछौं । – भेरी अस्पताल विकास समिति ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।