काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको विभूषणमा नेपालको नयाँ नक्सा समावेश नभएकोमा आलोचना भइरहेका बेला फेरि आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने तयारी भइरहेको छ ।
विभूषण ऐन २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवन शितलनिवासमा सुशोभन समारोहमा विभूषित गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।
समितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रा.डा. मीना वैद्य, प्रा.डा. इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्य सचिवमा गृहसचिव महेश्वर न्यौपाने रहेका छन् ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा १, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा ३, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ७, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ८, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस गरिएको थियो ।
विभिन्न मुलुकले ३ जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । मन्त्रिपरिषद्को गत असोज १ गतेको निर्णय अनुसार विक्रम संवत् २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी बैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।