आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपतिबाटै संविधानको धज्जी उड्यो, किन गरियो चुच्चे नक्सा गायब ?

राष्ट्रपतिबाटै संविधानको धज्जी उड्यो, किन गरियो चुच्चे नक्सा गायब ?

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 9.3K
    SHARES

  • राष्ट्रपतिबाटै संविधानको धज्जी उड्यो, किन गरियो चुच्चे नक्सा गायब ?

    काठमाडौं – पूर्व सहसचिव बाबुराम गौतमले शुक्रवार दिउँसो ४ः०५ बजेमा सामाजिक सञ्जाल फेसबूकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’

    सँगै घाँटीमा ‘सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो ।

    संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको विभूषणलाई नियालेर हेर्दा कालापानी/लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्यभागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झण्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीत समेत हो ।

    संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ गते संविधानको अनुसूची ३ संशोधन गरिएको छ ।

    संविधानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख गरिएको छ । संविधान संशोधनपछि पनि चलनचल्तीमा चुच्चे नक्सा नै छ । गलत नक्सा भएको विभूषण राष्ट्रपतिबाटै वितरण गरिनु लापरबाही भएको पूर्व प्रशासक र सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

    गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठ लगायतले समेत ग्रहण गरेका छन् । निजामती, जंगी, प्रहरी, न्याय, संसद, राजनीतिज्ञ, विभिन्न पेशा व्यवसायमा आवद्ध लगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको छ ।

    उपप्रधानमन्त्री (त्यसबेला रक्षामन्त्री पनि) ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्व उपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफारिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्रिपरिषद्बाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रवार विभूषण बाँडिएको छ ।

    त्यही वर्षको संविधान दिवस (असोज ३) मा राष्ट्रपति कार्यालयले विभूषण पाउनेहरुको नामावली सार्वजनिक गरेको थियो । गृह मन्त्रालयले कोरोना महामारीका कारण गत वर्ष प्रदान गर्न नपाएका विभूषण भएकाले पुरानै नक्सा सहितको लोगो परेको जिकिर गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शुक्रवार राष्ट्रपतिबाट वितरण गरिएका विभूषण नयाँ नक्सा जारी हुनुपूर्व बनाइएकाले लिम्पियाधुरासम्मको भूभाग नसमेटिएको बताए । ‘यी विभूषण २०७७ बैशाखअघि नै बनाइएका हुन्,’ बुढाले भने ।

    पुरानै नक्सा भएका विभूषण सरकारले रद्द गर्न सक्दैनथ्यो भन्ने प्रश्नमा उनले भने, ‘नयाँ नक्सा जारीपछि बनेका विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा हुनेछ । गत वर्ष नक्सा जारी भएकै थिएन । पुरानै डिजाइनमा बनेका र गत वर्ष सिफारिस गरिएकालाई नै प्रदान गरिएकाले अरू बोलिरहनुपर्छ जस्तो लाग्दैन ।’

    संविधानको धारा ९ (२) सँग सम्बन्धित नेपालको निसान छापमा रहेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको छ । यो नक्सा राष्ट्रपति कार्यालयदेखि सरकारी, गैरसरकारी, निजी, कूटनीतिक सबै क्षेत्रमा प्रयोग गरिएको छ । सरकारले २०७७ साउनमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई नयाँ नक्सा अनुसारकै संघीय संसद्को लोगो वितरण गरेको थियो । 

    नक्सा मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र आम मानिसको भावनासँग जोडिएकाले यससम्बन्धी हुने निर्णयमा नीति–निर्माण तहमा बस्नेहरु संवेदनशील हुनुपर्ने पूर्व गृहसचिव गोविन्द कुसुमले बताएका छन् ।

    ‘लिम्पियाधुरासम्म नै समेटिएको नक्सा प्रयोगमा आइसकेपछि त्यसअनुसार नै विभूषणमा देशको नक्सा समेटेर डिजाइन गर्नुपर्ने हो,’ कुसुमले भने, ‘नयाँ नक्सा आउनुअघि विभूषण तयार भइसकेकाले तत्काल नयाँ डिजाइन गर्न समय अभाव र आर्थिक व्ययभारलाई ख्याल गरेर पुरानै वितरण गरिएको होला तर यो विषय देशको भावनासँग जोडिएकाले निर्णय तहमा बस्नेले त्रुटि र कमजोरी देखाउनु हुँदैन ।’

    विभूषण ग्रहण गरेर शितल निवासबाट बाहिरिएका सरकारी सेवाबाट अवकाश प्राप्त एक उच्च अधिकारीले ठट्यौली पारामा सुनाए, ‘हामी त पुराना नक्साका पुरानै कर्मचारी तर तक्मा थाप्न जाँदा बहालवालासरह नै सम्बोधन गरियो । रिटायर्डको वर्ष दिनपछि एकछिनलाई बहालवालासरह सम्बोधन भयो, खुशी पो भइयो ।’

    अरु बेला राष्ट्रपतिले मानपदवी गलामै लगाइदिने चलन थियो । शुक्रवार भने कोरोना महामारीको कारण देखाउँदै राष्ट्रपति भण्डारीले हातमा विभूषण राखिदिएकी थिइन्, त्यसपछि विभूषितले गलामा लगाएका छन् ।

    सरकारले २०७६ असोज ३ गते ४५२ मानपदवीसहित ६३३ जनालाई विभूषण सिफारिस गरेको थियो । गत असोज ३ गते घोषणा गरिएका ४५२ मानपदवीसहित ५९३ जनालाई सिफारिस गरिएका विभूषण आगामी बैशाख १ गते प्रदान गरिँदैछ । त्यसदिन वितरण गरिने विभूषणमा प्रचलनमा रहेको देशको नक्सा समावेश हुने गृह मन्त्रालयका प्रवक्ता बुढाले बताए ।

    राष्ट्रदीप चौथो र पाँचौं तथा जनसेवाश्री प्रथमदेखि चतुर्थसम्मका सबै मानपदवीमा नेपालको नक्सा समावेश हुने गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend