काठमाडौँ - शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् ।
मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए ।
तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे । “मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु ।
कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु ।
आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?” मन्त्री साहले भने, “जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।”
आफुलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफुबाट नाखुस नभएको मन्त्री साहले बताए । आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोजनु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहको भनाई छ ।
जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउनसमेत मन्त्री साहले चुनौती दिए । चुनावको नामबाट मात्र आफु आतंकित हुने प्रचण्डहरुले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनावमा सहभागी भए प्रचण्डको हैसियत थाहा हुने उनको भनाई छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।