काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली पक्षमा लागेका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी पार्ने प्रतिस्पर्धामा लागेका छन् । भण्डारी र ओलीलाई खुसी पारे मात्रै पार्टीमा भविष्य रहने र लाभको पद पाइने अधिकांशको आश छ ।
पूर्व एमाले पृष्ठभूमिका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग एमाले पृष्ठभूमिका नेताको ठीकठाकै सम्बन्ध छ । तर पूर्व माओवादीबाट राजनीति गरेर अहिले ओली पक्षमा लागेका नेताहरूलाई भण्डारी र ओलीसँग सम्बन्ध निकट बनाउन केही न केही उपाय निकाल्नु नै पर्ने भएको छ ।
ओली सरकारमा शहरी विकास मन्त्री रहेका प्रभु साहले राष्ट्रपति भण्डारीसँग नजिक हुने उपाय निकालेका छन् । तर त्यसको योजना बनाउँदा गरीब जनताको पेटमा लात हानेको घटना सार्वजनिक भएको छ ।
राष्ट्रपति विद्या भण्डारीलाई प्रमुख अतिथि बनाएर रौतहटको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रि पर्वको उद्घाटन गर्ने कार्यक्रम बनाइँदैछ । मेला क्षेत्र ठूलो बनाउन मन्त्री साहले किसानको खेतमा डोजर चलाएको गुनासो सुनिएको छ ।
मन्त्री साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । तर मन्त्रीले नै पेटमा लात हानेपछि गरीब किसानको कुरा सुनिदिने कोही छैन ।
महाशिवरात्रिको ठूलो मेला लगाउन करीब ५ विघामा लगाइएको गहुँबाली नष्ट गरिएको एक स्थानीयले नाम नखुलाउने शर्तमा जानकारी दिए । शिवरात्रि मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरूलाई समेत ल्याउने तयारी भइरहेको प्रचार गरिएको छ ।
मन्त्री साहले नष्ट गरिएको गहुँबालीको मुआब्जा दिने भने पनि रकम थोरै रहेको किसानको गुनासो छ । एक स्थानीयले भने, ‘नष्ट भएको गहुँबालीको मुआब्जा दिने भनिए पनि त्यो मुआब्जाप्रति किसानहरु सन्तुष्ट छैनन् । १ कट्ठामा ४ देखि ५ मनको हिसाबले गहुँ उत्पादन हुने भए पनि कठ्ठाको २५ रुपैयाँ दिने भनिएको छ, हामीलाई निकै मर्का भएको छ । यत्रो मिहिनतका साथ खेती लगाएका थियौं । तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरिएको छ ।’
मन्त्री साहले गरीब किसानमाथि अन्याय गरेपछि गाउँमा रुवाबासी छ । तर मन्त्रीविरुद्ध खुलेर बोल्न सक्ने हिम्मत कसैमा पनि छैन । झन् राष्ट्रपति नै आउने कार्यक्रम भनेपछि सरकारबाट समेत कुनै न्यायको अपेक्षा नरहेको गुनासो स्थानीय किसानको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।