काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवादसँगै सत्ता समीकरणको खेलमा पक्षविपक्षमा विभाजित भइरहेका बेला कर्णाली प्रदेश सरकारका रहेका मन्त्रीहरुले आज सोमवार राजीनामा दिने भएका छन् ।
आईतवारको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेका तर्फबाट ३ जना मन्त्रीहरु सहभागी रहेका छन् ।
‘चैत २४ गते फेरि दलको बैठक बस्दैछ, सोमवार एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिनुहुन्छ,’ सांसद सुशील थापाले भने, ‘अब कर्णालीमा नेकपा एमाले नेतृत्वको सरकार बन्छ ।’
बैठकमा एमालेका सबै सांसदहरुको उपस्थिति रहेको थियो । एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद रहेका छन् ।
नेकपा एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ‘चैत ४ गते बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो, निर्णय अनुसार नै अघि बढ्छौं,’ थापाले भने, ‘सत्ता साझेदार दलका मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्रीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी रहेका छन् ।
पर्यटन मन्त्री बुढाले दलको निर्णय अनुसार आफूहरुले राजीनामा दिने बताएका छन् । ‘दलको बैठकले अविलम्ब राजीनामा दिन भनेको छ,’ बुढाले भने, ‘सोमवारभित्र वर्तमान सरकारबाट बाहिरिन्छौं ।’
संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर अविलम्ब मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । ‘चैत ५ गतेदेखि लागू हुने गरी हामीले समर्थन फिर्ता लिइसकेका छौं, अल्पमतमा रहेका मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ,’ कँडेलले भने, ‘एमाले बाहेकका बाँकी दलहरु मिल्दा पनि संख्या नपुग्ने देख्दादेख्दै कुर्सीमा बसिराख्नु राम्रो होइन ।’
मुख्यमन्त्री शाहीले एमालेका सांसदहरुलाई पनि आफ्ना भनेर टाउका गन्नु हाँस्यास्पद भएको उनले बताएका छन् ।
बैठकले दलको विधान निर्माणका लागि समिति गठन गरेको छ । संसदीय दलका नेता यामलाल कँडेलका अनुसार प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाइएको छ । समितिले २४ गते बस्ने बैठकमा विधान तयार पारेर पेश गर्ने भएको छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।