सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईको सपना पूरा हुँदै, आजदेखि घरघरमा मेलम्चीको पानी

कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईको सपना पूरा हुँदै, आजदेखि घरघरमा मेलम्चीको पानी

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 6.7K
    SHARES

  • कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईको सपना पूरा हुँदै, आजदेखि घरघरमा मेलम्चीको पानी

    काठमाडौं – कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आज आईतवार खस्नेछ ।

    अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन । आयोजनाका अनुसार तयारी पूरा भएको छ । 

    सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आईतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् । उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल) का पुराना पाइपलाइनबाटै वितरण गरिने भएको छ ।

    सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्ने छ । मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ । 

    सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो । पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो । मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो तर अहिले ६० लाखभन्दा बढीको बसोबास छ । तापनि अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ ।

    बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताएका छन् । ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो,’ राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउने छ ।’

    नयाँ र पुराना दुबै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ । सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ ।

    काठमाडौंमा सुरूमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ । बैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ । ‘ट्रायल पनि हुन्छ, पहिलो दिनमै सबै ठाउँमा पानी नआउन सक्छ,’ उनले भने ।

    उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने छ । यो उपत्यकाको मागअनुसार एकतिहाइ हो । उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको पानी ल्याइने छ ।

    प्रवक्ता पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन ९ किलोमिटर सुरुङ खन्ने तयारी छ । यी २ आयोजनाबाट १७–१७ करोड लिटर पानी थपिने छ । ‘कुन विधिबाट काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन,’ उनले भने । यांग्री र लार्केको सुरुङ निर्माण गर्न ५ वर्षभन्दा बढी लाग्ने देखिएको छ । मेलम्ची, यांग्री र लार्केबाट गरी उपत्यकामा ५१ करोड पानी ल्याउने योजना छ ।

    आयोजनाका अनुसार घरमा बस्ने व्यक्तिको अनुपात हेरी बिहान, बेलुकी पानी आउने छ । घरमा दिने पानीको पाइप आधा इन्चको छ । औसतमा ५०० लिटर पानी दिँदा धेरै व्यक्ति बस्ने घरमा २ हजार लिटरसम्म जानेछ ।

    मेलम्चीको सुरुङ निर्माण गर्न २०६५ फागुन ८ गते चिनियाँ कम्पनीसँग २०७० असोज ३० गतेभित्र काम सक्ने गरी सम्झौता गरिएको थियो । तर ६.५ किलोमिटर खन्ने तथा सपोर्ट लगाउने काम सम्पन्न गरे पनि १ वर्षभित्र सम्झौताअनुसार काम हुने नदेखिएपछि २०६९ असोज १० गते सम्झौता रद्द गरिएको थियो । 

    प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले गत वर्ष कात्तिकमा गरेको अध्ययनअनुसार सो समय सम्झौताको १५ प्रतिशत मात्रै भौतिक काम भएको थियो ।

    हेडवक्र्स तथा सुरुङ निर्माणका बाँकी काम सम्पन्न गर्न २०७० असार ३१ गते इटालीको सीएमसी डी राभेन्नासँग सम्झौता भएको थियो । त्यसअनुसार २०७३ असोज १४ गते सक्ने कबोल भए पनि काम हुन सकेको थिएन । त्यसै समयमा भूकम्प र नाकाबन्दीबाट आयोजना थप प्रभावित बनेको थियो ।

    कबोलअनुसार धेरै काम भए पनि सीएमसी इटालीमा इन्सोभेलेन्सी प्रक्रियामा गएको र आयोजनालाई जानकारी नगराई अचानक छाडी हिँडेका कारण निर्माण कार्य अवरुद्व भएको थियो । सोही कारण ठेक्का सम्झौता रद्द भएको समिति सभापति कल्याणीकुमारी खड्का संयोजक रहेको समितिको अध्ययन प्रतिवदेनमा उल्लेख गरिएको छ ।

    आयोजनाको सुरूआती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो । तर सुरुङ, हेडवक्र्स, सडक लगायतमा झण्डै ३० अर्ब खर्च भइसकेको जनाइएको छ ।

    उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १०० किलोमिटर पाइपलाइन निर्माण गरेको छ । २०० किलोमिटर पाइपलाइनको काम अघि बढेको छ । प्रत्येक घरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ । १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेको छ ।

    तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाएका थिए मेलम्चीको सपना । भट्टराईले निर्वाचनका बेला मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका थिए । त्यसको २९ वर्षपछि त्यसले साकार रूप लिँदैछ ।

    उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मेलम्चीसहित २२ वटा विकल्प २०४१ सालमा पहिचान गरिएको मेलम्ची खानेपानी विकास समितिको २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले खानेपानीको खोजी गर्ने क्रममा २०२९ सालदेखि पानीका सम्भाव्य स्रोतहरुको अध्ययन थालेको पनि प्रतिवेदनमा जनाइएको छ ।

    ‘विक्रम संवत् २०४९ सालको तुलनात्मक अध्ययनले प्रत्येक नदीबाट १७ करोड लिटरका दरकाले दैनिक ५१ करोड लिटर पानी काठमाडौं उत्पत्यकामा आपूर्ति गर्न उपयुक्त हुने आर्थिक तथा प्राविधिक रूपमा उत्तम विकल्प हुन आएका मेलम्ची, यांग्री र लार्के नै हुन् भन्ने निष्कर्ष निकालेको थियो,’ प्रतिवेदनमा उल्लेख छ ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राणाले सरकारले मेलम्चीको अध्ययन २०३५ सालमा थालेको बताए । त्यसबेला बिनी एण्ड पार्टनरलाई अध्ययन गर्न जिम्मा दिएको थियो ।

    लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो । २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसपछि २०५७ सालमा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो। आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो । यसरी आयोजनाको काम सुरू भएको २० वर्षमा मेलम्चीको पानी काठमाडौं सुन्दरीजलसम्म आइपुगेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २० २०८१०७:३३:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend