आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सत्ताको चाबी हातमा भएको जसपा आगामी सहकार्यबारे यस्तो मुडमा

सत्ताको चाबी हातमा भएको जसपा आगामी सहकार्यबारे यस्तो मुडमा

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १३ २०७७

  • 5.6K
    SHARES

  • सत्ताको चाबी हातमा भएको जसपा आगामी सहकार्यबारे यस्तो मुडमा

    काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा) को हातमा पुगेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा जसपाले खासै रुचि देखाएको छैन । बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ । 

    सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साविककै अवस्थाबाट अघि बढे आगामी हप्ता सत्ता साझेदारीको प्रक्रिया अघि बढ्ने सम्भावना छ । प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच अनौपचारिक वार्तापछि मधेश–थरुहट आन्दोलनका क्रममा चलाइएका २९२ मध्ये केही मुद्दाको फस्र्योट तत्काल हुनसक्ने दाबी समेत उच्च स्रोतले गरेको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई तीमध्ये केही प्रमुख मुद्दाको फस्र्योट तत्काल गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइको विषय त्यसमध्ये एक हो । प्रधानमन्त्रीसँगको छलफलका क्रममा जसपाले संविधानका केही प्रावधानको संशोधन गर्ने शर्तमा मात्र सरकारमा सहभागी हुने संकेत दिएको छ ।

    ‘यद्यपि जसपाले माओवादी र कांग्रेससँगको सहकार्यमा भन्दा प्रधानमन्त्री ओलीसँग मिलेर सरकारमा सहभागी हुनुलाई प्राथमिकतामा राखेको छ,’ पार्टी स्रोतले भन्यो ।

    वर्तमान राजनीतिक परिदृश्यमा जसपाभित्र २ धार स्पष्ट रुपमा देखिए पनि सत्ताका लागि फुट्ने सम्भावना भने निकै कम देखिएको छ । ‘हामी सर्वसम्मतिमै सत्तामा जान्छौं,’ स्रोतले भन्यो, ‘जारी भएदेखि नै संविधान संशोधन जसपाको माग रहँदै आएको छ । जसपा फुट्ने सम्भावना निकै कम छ ।’

    जसपाका नेता केशव झा वर्तमान अवस्थामा कांग्रेस र माओवादीले सामान्य राजनीतिक संस्कारलाई समेत आत्मसात नगरेको बताउँछन् । ‘कांग्रेस र माओवादीमा सामान्य राजनीतिक संस्कार पनि देखिएन,’ उनले भने, ‘जसपाको अन्तिम उद्देश्य भनेको कांग्रेस र कम्युनिस्ट पार्टीको विकल्प नै हो । यद्यपि अहिले जसपाभित्र दुई धार रहेको छ ।’ 

    जसपाका वरिष्ठ नेता अशोक राईले भने, ‘हाम्रो माग जसले पहिला पूरा गर्छ, उसैलाई साथ दिन्छौं । कांग्रेस र कम्युनिस्टले आफ्नो लागि मात्र बनाएको वर्तमान संविधान संशोधन नभएसम्म स्वीकार्य हुन सक्दैन ।’ 

    सांसद रेशम चौधरीको रिहाइ र मधेश–थरुहट आन्दोलनका बेला लगाइएका झूटा मुद्दा फिर्ता नै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि सहज वातावरण हुन सक्ने वरिष्ठ नेता राईले बताएका छन् ।

    पार्टी नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लको भनाइ उस्तैउस्तै छ । सत्ता समीकरणका लागि नभई सांसद चौधरीको रिहाइ र मधेश–थरुहट आन्दोलनका बेला लगाइएका झूटा मुद्दा फिर्ता तथा संविधान संशोधनको उपयुक्त वातावरण बनाउन अनौपचारिक वार्ताको पहल गरेको उनीहरुको भनाइ रहेको छ । कर्णले भने, ‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिने र कांग्रेसले निर्वाचनमै जाने अडान लिएको वर्तमान अवस्थामा जसपा सत्ता साझेदारीको खेलमा सहभागी हुनु हुँदैन ।’

    वरिष्ठ नेता राई भने कांग्रेस, एमाले र माओवादी केन्द्र ३ वटै दल प्रतिगमनकारी भएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘अन्तरिम संविधान निर्माण भइरहँदा उनीहरुले संघीयता, समानुपातिक र समावेशितालाई बेवास्ता गरेका थिए ।’

    ‘उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केपी ओलीलाई मात्रै प्रतिगमनकारी देखिरहनु तथा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र अनिलकुमार झा प्रधानमन्त्री ओली सरकारसँग सत्ता साझेदारीका लागि अघि बढ्नु जसपाभित्रको आजको राजनीतिक अन्योलको मुख्य कारण हो,’ जसपाका एक वरिष्ठ नेताले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend