काठमाडौं – सरकारले आगामी वर्ष २०७८ सालमा थप ४ दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दशैंको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको छ ।
आगामी वर्षका बिदासम्बन्धी विवरण आज सोमवार सार्वजनिक गर्ने सरकारको तयारी रहेको छ । २०७८ सालमा केही चाडपर्वमा बिदा थप गरिएको र सोमवार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
सरकारको निर्णयअनुसार भदौ ६ गते पर्ने जनैपूर्णिमा, असोज २१ गतेको घटनास्थापना र माघ १ गतेको माघे संक्रान्तिमा देशभर बिदा हुनेछ । तिहारको भाइटीकाको भोलिपल्ट कात्तिक २१ गते पनि राष्ट्रिय बिदा दिइने छ ।
विभिन्न जनजातिले आफूहरुको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक बिदा यथावत नै राखिएको मन्त्रालयले जनाएको छ । ५२ वटा शनिवारबाहेक बैशाख १ गते नयाँ वर्षको बिदा हुनेछ । महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभर बिदा कायमै राखिएको छ ।
आगामी वर्ष असोजको अन्तिम हप्ता बडादशैं छ । असोज २६ गते फूलपाती, २७ गते महाअष्टमी, २८ गते महानवमी र २९ गते विजयादशमी रहेको छ । दशैंको भोलिपल्ट समेत सार्वजनिक बिदा दिने गरिएकोमा असोज ३० गते शनिबार परेको छ ।
तिहारमा ३ दिन बिदा हुनेमा आगामी वर्ष ४ दिन बिदा हुनेछ । कात्तिक १८ गते लक्ष्मीपूजा, १९ गते गोरु तिहार र २० गते भाइटीका परेको छ । २१ गते पनि सरकारले बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रिय दिवसअन्तर्गत जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि बिदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ ।
विश्व मजदुर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको देशव्यापी बिदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा हुँदै आएको छ ।
गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रामा उपत्यकामा मात्र बिदा दिइने छ । उभौली, गौरा पर्व, इदुल फित्र, छठ, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृति तथा भौगोलिक क्षेत्रकाले मात्र बिदा पाउने छन् । सार्वजनिक बिदा हरेक वर्ष हेरफेर हुँदै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेलगत्तै चाडपर्वका बिदा कटौती गरिएकोमा फेरि थप्न थालिएको छ । धेरै दिन सार्वजनिक बिदा हुँदा अर्थतन्त्रमा त्यसको असर पर्ने भन्दै ३ वर्षअघि बिदा कटौती भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।