काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार बिहान बंगलादेश भ्रमणमा जाँदैछिन् ।
चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति प्रस्थान गर्दैछिन् ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज सोमवार बिहान ८ः३० बजे प्रस्थान गर्न लागेकी हुन् ।
राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । उनलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्ने जनाइएको छ ।
राष्ट्रपति भण्डारीलाई बंगलादेशमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान प्रदान गरिने छ । त्यसपछि उनी राष्ट्रिय शहिद स्मृति सभारमा पुगेर शहिदप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुने र प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी रहने जनाइएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारी समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् ।
भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा ३ सञ्चारकर्मी समेत रहने छन् ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा २ देशबीच पर्यटन प्रबर्द्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एण्ड फाइटो स्यानिटरी मेजर्ससहित ३ वटा बेग्लाबेग्लै समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।
भ्रमणका क्रममा हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको भ्रमणबारे चैत ६ गतेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै भ्रमणले दुईपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने जानकारी दिएका थिए ।
बंगलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलकाता बन्दरगाहको विकल्पको रूपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।