काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यलाई सहयोग गर्नेबारे जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । सो क्रममा पोखरेलले जोशीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री पोखरेल १५ मिनेटजति अस्पतालमा बसेर फर्किएका हुन् । गत फागुन १४ गते मस्तिष्कघात भई नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएका नेता जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उपचारका क्रममा केही दिन जोशीको अवस्थामा सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिए पनि केही दिनपछि फेरि स्वास्थ्य अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।
हालको अवस्था गम्भीर रहेको र जोशी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।