काठमाडौं – नयाँ सत्ता समीकरणका विषयमा जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किएर आज बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेपनि जसपाले निर्णय लिन सकेको छैन ।
अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष माग पूरा गराएर प्रधानमन्त्री ओली पक्षसँग मिल्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीसँग मिल्नै नहुने अडानमा छ । यस्तै विवादले जसपा अनिर्णित छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) नेपालबीच एकता भएर जसपा बनेको भएपनि पार्टी अनिर्णित बनेपछि राजपाले छुट्टै अभ्यास थालेको छ ।
जसपाको बैठक स्थगित भएपछि राजपा पक्षले पार्टी समायोजनका काम टुंग्याउन कमिटी गठन गर्ने निर्णय गरेको छ । बिहीवार नयाँबानेश्वरस्थित इन्द्रेणी फूडल्यान्डमा बसेको राजपा पक्षको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको भेलामा सहभागी एक नेताले जानकारी दिएका छन् ।
‘तत्कालीन संघीय समाजवादीसँग भएको पार्टी समायोजनको काम टुंगिइसकेको छैन । समायोजनका सबै एजेन्डा टुंग्याउन कार्यदल गठन गरिएको छ,’ उनले भने ।
कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनिल रोहित, रमेश यादव र सञ्जय यादव रहेका छन् ।
राजपातर्फ सबै संगठन चुस्तदुरुस्त बनाउन र समायोजनको काम पूरा गर्नका लागि पूर्व राजपामा कार्यदल गठन भएको जनाइएको छ । कार्यदलले भोलि शुक्रबारदेखि नै काम थाल्ने स्रोतले जनाएको छ ।
यसअघि राजपा पक्षले नै उपेन्द्र यादव र बाबुराम भट्टराईलाई थाहै नभई प्रधानमन्त्री ओलीसँग सत्ता गठबन्धनका लागि वार्ता गर्न कार्यदल बनाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।