काठमाडौं – मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि महोत्तरीको जलेश्वर नगरपालिकाले आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
महोत्तरीको जिल्ला सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाले बुधवार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।
मिथिला माध्यमिकी यात्राको पाँचौं दिन बुधबार राम–सिताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि सुरू भएको छ ।
मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर कार्यपालिकाको कार्यालयले जानकारी दिएको छ ।
हजारौं नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले जानकारी दिए ।
‘जलेश्वरमा डोला आउने दिन यहाँका जनजन परिचालित हुन्छन्, डोलाको दर्शन एक अपूर्व धार्मिक अवसर मानिने परम्परा स्थापित छ,’ कडरियाले भने, ‘नगरमा आउने धार्मिक यात्राका अतिथिलाई सबैले स्वागत गर्न र डोला उत्सवमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदा दिने निर्णय गरिएको छ ।’
जलेश्वरमा बुधबार बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम सुरू भएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको छ ।
सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानी चोकका होटल सञ्चालक धर्म शर्मा बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।