काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् ।
दुबै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताए ।
ललितपुरको जावलाखेलमा शनिवार आयोजित प्रचण्ड–नेपाल पक्षनिकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्ड र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष प्रचण्डले भने ।
प्रचण्डले जनताको बहुदलीय जनवाद छाड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबी समेत गरेका छन् । ओलीले आफूहरुलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको आरोप पनि प्रचण्डले लगाए ।
‘आजभोेलि केपी ओलीले जबज हामी, एमाले हामी अर्को त माओवादी हो भनेर जो भ्रम दिन खोजिरहेका छन्, योभन्दा ठूलो झूट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन, जनताको बहुदलीय जनवाद छाड्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्गप्रसाद ओली अर्थात् केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन्, यो चाहिँ सत्य हो,’ प्रचण्डले भने ।
नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकहरुको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । उनले आफू समेत शिक्षकबाट आन्दोलनमा होमिएको स्मरण गरेका छन् । प्रचण्डले विगतमा भएका प्रायः सबै आन्दोलनमा शिक्षकहरूले ठूलो योगदान दिएको बताएका छन् ।
कार्यक्रममा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले समेत केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताए । ओलीसँगको सहकार्यको सम्भावना नरहेको बरु संसद विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाउने नेपालले बताए । संसद विघटनविरुद्ध कांग्रेसले पनि आन्दोलन गरेको थियो ।
‘केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, भ्रममा नपर्नुहोला, केपी ओलीका मानिसहरुका आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन, बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्, यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्, त्यसकारण तपाईंहरु यस्ता कुराको भ्रममा नपर्नुहोला,’ अध्यक्ष नेपालले भने, ‘हामी आन्दोलनमा सहभागी भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाऔं भनिरहेका छौं ।’
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि एउटा लडाइँ जितेको भए पनि सिंगो लडाइँ भने जित्न बाँकी रहेको नेपालले बताए । प्रधानमन्त्री ओलीलाई नहटाएसम्म लडाइँ जारी राखिने समेत उनले बताए ।
सम्बोधनका क्रममा नेपालले ओलीलाई पूर्व एमालेको कुनै माया नभएको समेत बताए । ‘केपी ओलीलाई एमालेको कुनै माया छैन, उनलाई कम्युनिस्ट पार्टीको पनि कुनै माया छैन,’ नेपालले भने, ‘केपी ओली मदन भण्डारी फाउन्डेसन गुटका नेता हुन् ।’
नेपालले प्रधानमन्त्री ओलीलाई कुनै हालतमा सुधार्न नसकिने समेत दाबी गरेका छन् । ‘बामदेव गौतमजी अहिले पनि ओलीलाई सुधार्ने कोसिस गर्दै हुनुहुन्छ । तर मैले उहाँ (गौतम) लाई बालुवा पेलेर तेल निस्किँदैन, कोसिस नगर्नुहोस् भनेको छु ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।