काठमाडौं - सर्वोच्च अदालतको फैसलापछि सबैभन्दा धर्मसंकटमा राष्ट्रपति विद्यादेवी भण्डारी परेकी छन् । राष्ट्रपति पद संवैधानिक हो । सरकारले गरेका निर्णय सदर र स्वीकृत गर्नुबाहेक राष्ट्रपतिको कुनै कार्यकारी भूमिका हुन्न ।
जो व्यक्ति राष्ट्रपति भए पनि गर्ने त्यही नै हो । तर, वर्तमान राष्ट्रपति भण्डारीमाथि प्रधानमन्त्री केपी ओलीको सहयोगी बनेको आरोप छ । अझ उनले स्वीकृत गरेको प्रतिनिधिसभा विघटन निर्णय सर्वोच्चले बदर गरिदिएपछि भण्डारी धर्मसंकटमा परेकी हुन् ।
प्रधानमन्त्री केपी ओलीले सनकका भरमा संसद् भंग गर्ने निर्णय गर्दा राष्ट्रपति भण्डारीले कानुनी राय र सुझाव लिन सक्थिन् । तर, उनले तत्काल स्वीकृत गरिदिएर हुनै नसक्ने निर्वाचनको मिति नै तोकिदिइन् । सोही कारण उनीमाथि नैतिक संकट धेरै देखिएको हो ।
भण्डारीमाथि सबैको राष्ट्रपति बन्न नसकेको आरोप लाग्दै आएको छ । उनले नेकपामा प्रधानमन्त्री ओलीले भनेका सबै मान्ने, अर्को पक्षलाई पेल्ने र हतोत्साही गर्ने नीति लिएको नेकपाका नेताहरु बताउँछन् ।
सोही कारण मंगलबारदेखि नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवैलाई पदबाट हट्न दबाब बढाइएको हो । भण्डारी राष्ट्रपति बन्नुअघि तत्कालीन एमालेको उपाध्यक्ष थिइन् ।
उनमा अझै पनि राजनीति गर्ने मोह देखिन्छ । त्यसैले अहिले आफू निकट प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुनबाट रोक्न भण्डारीले चलखेल गरेको, दबाब दिएको नेतृ अष्टलक्ष्मी शाक्यले नै आरोप लगाएकी छन् ।
यत्रो घटना भइसक्दा पनि मार्गप्रशस्त नगरी अझै पनि प्रधानमन्त्री केपी ओलीले भनेको मानिन् भने भण्डारीको बचेखुचेको साख पनि गुम्ने सर्वसाधारणको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।