काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्री श्रीमान पशुपति पुरीको जमानी जिम्मामा छुटेकी छन् ।
नेतृ झाँक्री छुट्ने चर्चा पहिल्यै चलेपनि उनलाई जिम्मा लिन नेकपा नेताहरू तयार भएनन् । उनलाई छुटाउन भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराई महानगरीय अपराध महाशाखा काठमाडौं पुगेका थिए ।
नेताहरूले जिम्मा लिन तयार नभएपछि झाँक्रीका श्रीमान पशुपति पुरीले श्रीमती झाँक्रीलाई जिम्मा लिएर छुटाएका छन् ।
झाँक्रीले प्रहरी हिरासतबाट छुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया दिएकी छन् । लोकतन्त्रिक व्यवस्थाका लागि लडेको र आगामी दिनमा पनि लड्ने बताउँदै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिविरुद्ध सडकमा छौं ।’
संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरुको आलोचना गर्दा कुनै पश्चाताप गर्न नहुने उनले बताइन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरुप्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरुका क्रियाकलापप्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ झाँक्रीले भनेकी छन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’
संवैधानिक पदहरुमा पुग्ने पात्रका गतिविधिमाथि प्रश्न गर्नुपर्ने झाँक्रीको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर त्यहाँ पुग्ने पात्रहरुले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानूनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।