बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

‘केपी बा’भित्र लुकेको रहस्य, महिलाहरूलाई सारी दिएर लोभ्याइन्थ्यो !

‘केपी बा’भित्र लुकेको रहस्य, महिलाहरूलाई सारी दिएर लोभ्याइन्थ्यो !

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 4.4K
    SHARES

  • ‘केपी बा’भित्र लुकेको रहस्य, महिलाहरूलाई सारी दिएर लोभ्याइन्थ्यो !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्ला–फुट्ला जस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए ।

    त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई बा भन्नेहरुले एमाले दर्ता गराए ।’

    ओली अप्ठ्यारोमा परेका बेला पार्टी फुट्छ भनेर अर्को पक्षलाई दबाबमा पार्ने यो ‘भरपर्दो’ अस्त्र थियो र कुरा हो, गत भदौ ३ गतेको ।

    नेकपा ओली समूहका नेता महेश बस्नेतले गत पुस १३ गते सुर्खेतमा पुगेर ओली राजनेता भएकाले उनलाई अबदेखि सबैले ‘केपी बा’ भन्नुपर्ने तर्क राखिरहेका बेला काठमाडौंमा नेकपाकै अर्को पक्षका अध्यक्ष माधवकुमार नेपाल भन्दै थिए, ‘केपी ओलीको बा प्रवृत्तिविरुद्ध हामी संघर्ष गर्दैछौं ।’ जुन कुरा नेपालले २०६५ सालतिर तत्कालीन एमालेको केन्द्रीय कमिटीमा पहिलोपटक उठाएका थिए ।

    ‘केपी बा’ मन पराउने/नपराउनेको तर्क एकातिर छँदै छ, प्रधानमन्त्री ओलीलाई ‘केपी बा’का रुपमा जबरजस्त स्थापित गरिएको छ ।

    ‘बा प्रवृत्ति’ र यसका गुण अवगुणबारे तल चर्चा हुनेछ, अहिले भने ओलीलाई कहिलेदेखि र किन बा भन्न थालियो भन्नेतिरै जाऔं । २०६४ सालको संविधानसभा चुनावमा तत्कालीन माओवादी सबैभन्दा ठूलो दल भयो भने एमाले ३४ सिट ल्याउँदै तेस्रो दल बन्यो । त्यतिखेरै युवा नेता बस्नेत सहितको समूहले युथ फोर्स गठनको कुरा निकाल्यो, त्यसको अभिभावकत्व लिए ओलीले ।

    त्यही बेलादेखि युवा संघकी निरु पालले ओलीलाई बा भन्न थालिन् । ‘उहाँ सबैको ख्याल गर्नुहुन्छ, अभिभावकीय भूमिका छ,’ उनले भनिन्, ‘पहिले मनमोहनलाई पनि बा भनिन्थ्यो, श्रद्धाले उहाँलाई पनि बा भन्न थालियो ।’

    सिद्धान्ततः कम्युनिस्टहरू नातावाद र कृपावाद रुचाउँदैनन् । २०४६ साल अघिको भूमिगतकालीन आन्दोलनमा अक्सर कम्युनिस्टहरु एकअर्कालाई मित्र भन्थे । १० वर्षे सशस्त्र द्वन्द्वका बेला माओवादी नेता–कार्यकर्ताले आपसमा कमरेड भन्थे ।

    पछि सबै कम्युनिस्टहरूको साझा सम्बोधन कमरेड बन्दै आयो जुन विश्वका पुराना समाजवादी तथा कम्युनिस्ट पार्टीहरूले चलाएका हुन् । विशेषगरी समाजवादी र श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन ‘सेकेन्ड इन्टरनेसनल’ (सन् १८८९–१९१६) का छलफलमा समानतामा आधारित सम्बोधन कमरेड चलेको थियो । सेकेन्ड इन्टरनेसनलबारे लेखिएको ‘फर्जिङ डेमोक्रेसी’ नामक किताबअनुसार सबै तहका नेताले सबै तहका नेतालाई कमरेड सम्बोधन गर्थे ।

    समाजवादी तथा मार्क्सवादी आन्दोलनको सेकेन्ड इन्टरनेसनललाई समेत कम्युनिस्ट आन्दोलनको आधार मानेका नेपालका कम्युनिस्टहरुले सुरूमा त्यसैको नेपाली अनुवाद मित्र र पछि कमरेड सम्बोधन गर्न थालेका थिए ।

    तर राजनीतिको ४० वर्षपछि एमाले नेतृत्व र त्यसको ५ वर्षमा ठूलो कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष बनेका ओली भने कम कमरेड र ज्यादा बा बने । उनी कसरी बा बने भन्ने सन्दर्भमा विश्लेषक राजेन्द्र महर्जन २०४७ सालतिर फर्कन्छन् । ‘२०४७ सालदेखि नै ओलीले युवा संघका मान्छेलाई आफू अनुकुल बनाउन महिनाको १ दिन भोज खुवाउँथे, युवा संघका साथीहरुले केपी कमरेडकामा भोज खायौं भनेको सम्झना छ,’ उनले भने, ‘खुवाउने र खानेबीच समानतामा आधारित सम्बन्ध हुँदैन । त्यसपछि बिस्तारै ओली संरक्षक हुने र अरू संरक्षित हुने कल्चर सुरू भयो, कालान्तरमा संरक्षितले उनलाई बा भन्न थाले ।’

    तत्कालीन एमाले महासचिव मदन भण्डारीको २०५० सालमा निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । सुरूमा एउटै समूहमा रहेका ओली र नेपालबीच फाटो आउन थाल्यो । नेपालले बेवास्ता गरेका नेतालाई ओलीले संरक्षण गर्न थाले, उनीहरु ओलीप्रति नतमस्तक हुँदै गए, ओली कमरेडबाट बिस्तारै बा बने ।

    नेकपा केन्द्रीय सदस्य महेश बस्नेतको भनाइ पनि यही छ । ‘केही समस्या परेर माधव कमरेड, झलनाथ कमरेडकामा जाँदा टार्ने, हप्काउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘ओली कहाँ गए १०–२० हजार दिएर पठाउने, कुनै अस्पतालमा भनेर पैसा कम गराइदिने, प्रहरी प्रशासनमा डिल गर्नुपर्ने हो कि, गरिदिनुहुन्थ्यो । बाले गर्नुपर्ने व्यवहार उहाँबाट पाउँथ्यौं ।’

    २०६४ सालमा जब निरु पालले ओलीलाई बा भन्न थालिन्, बस्नेतले पनि सुरू गरे । त्यसपछि युवा संघ र अखिलका ओलीपक्षीय नेता–कार्यकर्ताले ओलीलाई बा भन्ने, कतै यात्रामा निस्किए एस्कर्टिङ गर्ने, ओली पुग्ने ठाउँमा छुट्टै सान–सौकत सहितको आसन बन्दोबस्त गरिदिने, कार्यक्रम स्थलभर ओलीकै फोटो टाँस्ने परम्परा सुरू गरे । यो परम्परामा दुवै पक्ष रमाउन थाले ।

    ‘अहिले त युवा र विद्यार्थीले उहाँलाई बा, मलाई दाइ भन्छन्,’ बस्नेतले सुनाए ।

    पछिल्लो समय यसले झन् बढोत्तरी पायो । विश्लेषक तथा लेखक हरि रोका कमरेड भन्नेहरू टाढा र बा या दाइ भन्नेहरू नजिक हुँदै जाँदा कम्युनिस्ट पार्टीहरुमा सैद्धान्तिक विचलन आउन थालेको बताउँछन् । ‘तत्कालीन एमालेमा बा जस्तै माओवादीमा दाइ कल्चर रहेछ । यसले एउटा गुट विकास गर्दो रहेछ,’ उनले भने, ‘त्यसपछि आफ्नो कुरा राख्दा कमरेड भन्ने टाढा भए, बा दाइ भन्ने नजिक पुगेर परिवारको सदस्यजस्तो भए । त्यसले सैद्धान्तिक र राजनीतिक कुरालाई छल्ने नै भयो ।’

    मान्छे विचारको नभई बा या दाइको पछाडि लाग्न थालेपछि सिद्धान्तको राजनीति हराउने र आफ्नाको व्यवस्थापनमै नेताहरूको दिन ढल्ने रोकाको भनाइ छ ।

    नेता बस्नेत कमरेड र मित्रको सम्बोधनले आत्मीय सम्बन्ध नहुने भएकाले त्यसलाई परिवर्तन गरिएको तर्क गर्छन् । उनको भोगाइमा ओली एकदमै हेरविचार गर्ने नेता हुन् । ‘एकचोटी म उहाँको निवासमा पुगेको थिएँ, पुसका बेला स्वेटर मात्रै लगाएको थिएँ, उहाँले यसो हेर्नुभयो, युवा मान्छेलाई निमोनिया होला भनेर भित्रबाट रसियन कोट ल्याएर दिनुभयो,’ बस्नेतले भने, ‘अर्कोपटक म चीन जाने कुरा भएको थियो, केपी बाले कताबाट थाहा पाउनुभएछ, बालकोट पुगेको थिएँ, गाडीमा हालेर बागबजार पुर्‍याउनुभयो । कोट पाइन्ट अर्डर गरेर चीनमा कोट पाइन्ट, टाई लगाउनुपर्छ, हाम्रा युवा नेताको पारा ल्याङ–फ्याङे छ भन्नुभयो । यति धेरै केयर गर्ने मान्छे बा नभए को हुन्छ ?’

    ओलीले अनेमसंघका धेरै कार्यकर्तालाई पनि तीजमा साडी किनिदिएका छन् । ‘उहाँले हरेक तीजमा अनेमसंघका नेतृहरुलाई साडी किनुहुन्थ्यो,’ नेकपा नेता उर्मिला अर्यालले भनिन्, ‘मलाई पनि धेरैपटक उपहार दिन खोज्नुभयो, मानिनँ । दिएर आफ्नो बनाउने खालको हुनुहुन्छ केपी कमरेड ।’ अहिले पनि ओलीको संरक्षकत्वमा रहेकालाई अप्ठ्यारो पर्दैन भनिन्छ ।

    तर पार्टीका नेताहरुबीच एउटा संरक्षक र अर्को संरक्षित हुँदा त्यसले बिस्तारै अधिनायकवादी चिन्तन बढाउँदै जाने विश्लेषक महर्जनको बुझाइ छ । ‘प्रश्न सोध्दा बा त रिसाउँछन्, बालाई छोराछोरीभन्दा आफैं जान्ने छु भन्ने लाग्छ,’ उनले भने, ‘सही भने पनि गलत भने पनि त्यसैको पछि दौडिने जमात बढ्छ ।’

    ऐतिहासिक दस्तावेजका अनुसार तत्कालीन उत्तर भियतनामका राष्ट्रपति हो ची मिन्हलाई काका सम्बोधन गरिन्थ्यो, भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई चाचा भन्ने गरिन्थ्यो । नेपालमा पृथ्वीनारायण शाहलाई राष्ट्रपिता भन्ने गरिन्थ्यो । गणतन्त्र आएपछि भने उनको भूमिकामाथि आलोचनात्मक टिप्पणी हुन थाल्यो । तर ‘केपी बा’को उदय भयो ।

    समाजशास्त्री मीना पौडेल यसलाई दुई कोणबाट हेर्नुपर्ने बताउँछिन् । ‘अहिले प्रधानमन्त्री र अरू नेताले पनि मेरा प्यारा दाजुभाइ दिदीबहिनीबाटै औपचारिक कार्यक्रमको सुरूवात गर्छन्, यो हिजो राजाले मेरा प्यारा प्रजा भनेको जस्तो हो,’ उनले भनिन्, ‘त्यसमाथि बा प्रवृत्तिले पहिलो त सामन्ती पितृसत्तात्मक संरचनालाई स्वीकार गरेर संस्थागत गरेको छ, दोस्रो दास मनोवृत्ति विकास गरिदिएको छ ।’ उनले यही प्रवृत्ति बढ्दै गयो भने मुलुकको सामाजिक, सांस्कृतिक विकासक्रम नै अप्ठ्यारोमा पर्ने बताइन् ।

    ‘बाले भनेका सबै ठीक हुन् भनेर संस्थागत गर्न थालियो भने सार्वजनिक नीतिमा पनि प्रभाव पर्न सक्छ, त्यो मान्छेले भनेको कुरा अकाट्य हुने स्थिति बन्न सक्छ,’ समाजशास्त्री पौडेलले भनिन्, ‘भोलि राजनीतिमा बा प्रवृत्ति संस्कृति नै बन्ने हो कि भन्ने डर हो । यसो हुँदा त्यो राजनीतिज्ञले भनेका कुरा विना विवाद राजनीतिक नीति बन्छन्, त्यसले असर पार्न सक्छ, जुन पहिले राजा रजौटाकालमा हुने गर्थ्यो ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend