बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीको अनौठो चरित्र, थाहा पाएका जो कोही हुन्छन् हैरान !

केपी ओलीको अनौठो चरित्र, थाहा पाएका जो कोही हुन्छन् हैरान !

  • मिडिया डबली
  • आइतवार, पौष २६ २०७७

  • 6.4K
    SHARES

  • केपी ओलीको अनौठो चरित्र, थाहा पाएका जो कोही हुन्छन् हैरान !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्वोधन गरिरहेका उनको शनिवारको आक्रोश पूर्व प्रधानन्यायाधीशमाथि केन्द्रित भयो ।

    युवा संघको भेलामा उनले ‘एकपटक अदालतमा जागिर खाएको भरमा बाहिर आएर जथाभावी बोल्न नहुने’ भनी टिप्पणी गरेका छन् ।

    ‘पोहोर, परार जागिर खाएको थिए र अहिले पनि जागिर खाएको छु भन्ने नठान्नुहोस् । अदालतको सर्वोच्च पदमा रहेका व्यक्तिहरुले अदालतलाई गुमराहमा पार्ने, धम्क्याउने, अलमल्याउने गर्न पाउँदैनन्,’ ओलीले भने, ‘न्याय, संविधानका कुरा गर्ने ? सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’

    प्रधानमन्त्री ओलीले युवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउनुपर्ने धारणा राखेका छन् । ‘संविधानमा संवैधानिक इजलास छ । संवैधानिक इजलासले हुँदैन भनिरहेका छन् । कुन संविधानले भन्यो, संवैधानिक इजलासले हुँदैन ?’ ओलीले सोधे । प्रतिनिधिसभा विघटनविरुद्ध लागेकाहरू हण्डीबाट चलेको आरोपसमेत प्रधानमन्त्री ओलीले लगाएका छन् ।

    पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रवार संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम संविधानविरोधी भएको टिप्पणी गरेका थिए । विज्ञप्तिमाथि प्रधानमन्त्री ओलीले चर्को आक्रोश व्यक्त गरेका हुन् ।

    उनले संवैधानिक इजलासबाटै विघटनको मुद्दा सुनुवाई हुनुपर्ने भनेर अर्को विवादास्पद अभिव्यक्ति समेत दिएका हुन् । प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभालाई ‘सुकेका रूख’को उपमा दिँदै बैशाख १७ र २७ गतेको चुनावबाट नयाँ विरुवा रोपिने बताएका छन् । चुनाव कुनै पनि हालतमा तलमाथि नहुने उनको धारणा थियो ।

    पूर्व न्यायाधीश प्रकाश वस्ती जो कोही नागरिकलाई संविधानको व्याख्या र त्यसमाथि टीकाटिप्पणी गर्ने अधिकार रहेको बताउँछन् । ‘संविधान सार्वजनिक दस्तावेज हो, त्यसमा हुने टिप्पणीबाट कोही पनि रिसाउनुपर्ने छैन । तर आधिकारिक व्याख्याता सर्वोच्च अदालत नै हो,’ राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य समेत रहेका वस्तीले भने, ‘आफ्नो विचार पनि व्यक्त गर्न पाइँदैन भन्ने त अहिलेसम्म सुनिएको छैन । प्रधानमन्त्रीको अभिव्यक्तिले कताकता अभिव्यक्तिमाथि कुण्ठित गर्न खोजेजस्तो देखियो । यो ठिक भएन ।’

    ४ पूर्व प्रधानन्यायाधीशको धारणाले प्रभावित हुने गरी मुलुकको न्यायालय कमजोर नरहेको उल्लेख गर्दै उनले अदालतलाई आफ्नो स्वतन्त्र धारणा राख्न कसैले नरोक्ने बताए । उनले भने, ‘अदालतले आफ्नो काम गर्छ, यस्ता कुरा नोटिसमा लिँदैन ।’

    पूर्व प्रधानन्यायाधीशहरुले अदालतलाई गुमराहमा राखेको, धम्क्याएको र अलमल्याएको आक्षेप ओलीले लगाएका छन् । जब कि शुक्रवारको वक्तव्यमा अदालतबारे केही विवरण उल्लेख छैन । वक्तव्य निकालेका केही पूर्व प्रधानन्यायाधीशले ओलीको प्रतिक्रियापछि फोनबाट छलफल गरेका थिए ।

    एक पूर्व प्रधानन्यायाधीशले ‘मनमा केही कुरा लागे बोल्नै समेत नहुने अवस्था आएको’ भन्दै चिन्ता व्यक्त गरे । ‘हामीले संविधान पढेको हो । त्यसबाट हेर्दा के देखिन्छ, त्यत्ति भनेको हो । अब संविधान पढ्न पनि प्रधानमन्त्रीको अनुमति लिनुपर्ने ?’ उनले भने, ‘अरिंगाल र साइबर सेनासँग भिडेर साध्य हुँदैन । अब दोहोरी नखेल्ने निष्कर्ष निकालेका छौं । जति मन लाग्छ, गाली गरून् ।’

    भारतमा सामाजिक सञ्जालमा न्यायाधीशबारे लेखेबापत अवहेलना मुद्दा खेपेका कानून व्यवसायी प्रशान्त भूषणका विषयमा पूर्व न्यायाधीशहरुले अभिव्यक्ति दिएका थिए । श्रीलंकाको न्यायाधीशमाथि महाअभियोग लाग्दा विश्वभरका कैयौं न्यायाधीश र उनीहरुको नेटवर्कले प्रतिक्रिया दिएको अधिवक्ता गोविन्द बन्दी बताउँछन् ।

    पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्यले संविधान र त्यसबारे ओली सरकारले गरेको व्यवहारबारे धारणा सार्वजनिक गरेकाले विचाराधीन मुद्दाबारे त्यसले सरोकार नराख्ने उनले दाबी गरे । पूर्व प्रधानन्यायाधीशको विचारलाई निषेध गर्न खोजेका प्रधानमन्त्री ओलीले भने देशव्यापी कार्यक्रमका दौरान तिखो र अत्यन्त आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

    ‘अहिले प्रधानमन्त्री ओलीको पक्षले सत्ताको बल देखाइरहेको छ, शक्ति प्रदर्शन गरिरहेको छ । यसले समाजलाई मुडेबलतर्फ डोर्‍याउँदैछ,’ वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘यस्ता गतिविधिले अमेरिकामा डोनाल्ड ट्रम्पको शासन कालमा झैं समाजमा विभाजन गर्ने खतरा छ । मान्छे जम्मा गरी जुलुस देखाएर हामी केही पनि मान्दैनौं भन्ने सन्देश दिइरहेका छन् ।’

    ४ पूर्व प्रधानन्यायाधीशको वक्तव्यले अदालतलाई प्रभावित पार्न सक्ने भन्दै चिन्ता गर्ने प्रधानमन्त्री ओली स्वयंले भने विभिन्न मञ्चहरूमा प्रतिनिधिसभा विघटनको निर्णय अदालतबाट सदर हुने लगायतका विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । आन्तरिक भेटघाटमा त उनले ‘सबैतिर म्यानेज गरिसकेको’ समेत बताउने गरेका छन् । तर संविधानमाथिकै आफ्नो धारणा राखेका आधारमा पूर्व प्रधानन्यायाधीशहरुमाथि भने उनले रुखो टिप्पणी गरेका छन् ।

    शनिवारको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निवेदन संवैधानिक इजलासमा नै सुनुवाइ हुनुपर्ने बताएका छन् । जब कि मुद्दाका पक्ष मानिने कानून व्यवसायीहरु र निवेदकमध्येका देव गुरुङ लगायतका नेताले सार्वजनिक रुपमा यसबारे बोलेका छैनन् । उनीहरुको मागदाबी केवल इजलासमा सीमित छ ।

    मुलुकको कार्यकारी अधिकार बोकेको र मुद्दाको ‘झगडिया’ समेत रहेका प्रधानमन्त्रीले भने इजलासकै बारेमा विचाराधीन विषयमा हस्तक्षेप गरेका हुन् । ‘उहाँ मुद्दाको पक्ष मात्रै हो । उहाँले कार्यकारी अधिकार ग्रहण गर्नुभएको छ र कतिपय अवस्थामा न्यायालयलाई नियन्त्रण गर्ने क्षमता राख्नुहुन्छ,’ विघटन विरुद्धको मुद्दा हाल्ने गुरुङका कानून व्यवसायी रहेका अधिवक्ता बन्दीले भने, ‘इजलासबारे प्रधानमन्त्रीको अभिव्यक्ति अदालतलाई प्रभावित पार्ने काम हो । मुद्दाको पक्षले अदालतमा विचाराधीन विषयमा बोल्नै मिल्दैन । उहाँले अदालतलाई प्रभाव पार्ने काम गरिरहनुभएको छ ।’

    आफूले सबै गतिविधिमार्फत दबाब र प्रभाव बढाउने तर आफू इतरको पक्षलाई निषेध गर्ने रणनीति देखिएको एक पूर्व प्रधानन्यायाधीशले बताए । ‘आफू जे पनि बोल्ने, तर अरूले आफूलाई चित्त नबुझ्ने कुरा बोल्यो कि हप्काउने शैलीले अन्ततः नागरिकका अभिव्यक्तिमाथि नै बन्देज लगाउन खोजेको देखिन्छ,’ उनले भने, ‘हामीमाथि अदालतलाई धम्क्याएको आरोप छ । तर उहाँले हामीलाई धम्क्याएर अदालतलाई नै प्रभाव पार्न खोजेको देखियो ।’

    प्रधानमन्त्री पक्षधरहरु भने पूर्व प्रधानन्यायाधीशहरुको वक्तव्य गलत भएको र त्यसले अदालतलाई प्रभावित पार्ने बताउँछन् । प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालका अनुसार एकातिरबाट ‘फायर’ खुलेपछि अर्कोतिरबाट त्यसको जवाफ आएको हो । ‘पक्षले म मुद्दा जित्छु भन्नु स्वाभाविक हो । उसले आफ्ना पक्षमा तर्क/अभिव्यक्ति दिन्छ । विपक्षीको हकमा पनि त्यही हो । मैले मुद्दा गरेको छु, अब चुप बस्छु, बोल्दिनँ भनेर कोही पनि भन्दैन,’ दाहालले भने, ‘प्रधानमन्त्रीले आफूले गरेको निर्णय सही हो भन्नु र मुद्दा जित्छु भन्नु स्वाभाविक मान्नुपर्छ । विपक्षी नेताहरुको पनि त्यस्तै कुरा आउला । तर तटस्थ रहनुपर्ने न्यायाधीशहरूले वक्तव्य जारी गरेर अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजे ।’

    संविधानले नै पूर्व न्यायाधीशहरूलाई कुनै पक्षको पैरवी गर्न रोक लगाएको उल्लेख गर्दै दाहालले भने, ‘उहाँहरुले वक्तव्यबाट एउटाको पक्ष लिएको देखिएपछि प्रधानमन्त्रीले यसो नगर्नु भनेर सम्झाउनु स्वाभाविकै हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend