काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । माग पूरा नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने अध्यक्ष थापाको चेतावनी छ ।
शुक्रवार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताएका छन् ।
‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिँड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि, नचाहे पनि घरघरमा बहस हुन थालेको छ,’ अध्यक्ष थापाले भने ।
हिन्दूराष्ट्र र राजसंस्थालाई पुनर्स्थापित र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने अध्यक्ष थापाले बताए । सिंहदरबार र शितलनिवासका शासकहरूलाई सार्वजनिक आह्वान गर्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’
संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै थापाले राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताएका छन् ।
राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए । केही दिनअघि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरू आएको भन्दै पूर्व परराष्ट्रमन्त्री थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।