काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले हर कुरामा विदेशमै निर्भर रहनुपरेकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
आईतबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीले चुलिँदो व्यापार घाटाप्रति चिन्ता व्यक्त गरिन् ।
‘हर कुरामा हामी बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ, यसलाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्न सक्छौं,’ भण्डारीले भनिन्, ‘त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरुरी छ ।’
राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिएकी छन् । ‘हामी पर्याप्त सम्भावना भएर पनि पछि परेका छौं, प्राकृतिक स्रोतसाधनमा हामी धनी छौं,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बजारका लागि कुनै समस्या छैन । तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरूकै भर पर्नुपर्ने परिस्थिति छ ।’
रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्न भण्डारीले सुझाव दिइन् ।
भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोरोनाको प्रभावबाट बाहिर ल्याउन सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरुत्थान विशेष कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष गोल्छाले साना, मझौला व्यवसाय चल्न सके ठूला उद्योग स्वतः चल्न सक्ने भन्दै सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको स्पष्ट पारे । महासंघले ल्याउने भिजन पेपरमा पुनरुत्थानका लागि विशेष सुझाव समेटिने गोल्छाले बताए ।
लाखौं युवा बेरोजगार रहेका र युवाको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती बनेको सन्दर्भमा महासंघको ‘भिजन पेपर’ले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने अध्यक्ष गोल्छाले बताए । दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरु समेतको सहयोगमा आम सरोकारवाला पक्षसँग छलफल गरी भिजन पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति भण्डारीसमक्ष जानकारी गराएका छन् ।
गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।