काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या हरेक महिना झनझन् बढ्दै गएको छ ।
शनिवार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिवारसम्म मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।
विगत ६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिवारसम्म २७१, अक्टोबरमा ४३९, सेप्टेम्बरमा २७०, अगस्टमा १७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । बाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।
देशभर कोभिडले मृत्यु भएकामध्ये ८९० जना अर्थात् ५० प्रतिशत बागमती प्रदेशका छन् । उपत्यकामा ६९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ । नोभेम्बर ४ मा ३० जनाको मृत्यु भएको थियो भने नोभेम्बर ३० मा २९ जना र नोभेम्बर २५ मा २८ जनाको मृत्यु भएको थियो ।
पछिल्लो १ महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।
विज्ञहरूले कोभिडको समग्र परीक्षणमा कमी आउनुका साथै सस्पेक्टेड केस (शंकास्पद संक्रमित) बाहेक दैनिक उल्लेख्य संख्यामा विदेश जान खोज्नेहरूले नै पीसीआर परीक्षण बढी गरेकाले संक्रमण दरमा कृत्रिम कमी देखिएको विश्लेषण गरेका छन् । १ हप्तायता मुलुकको दैनिक औसत कोभिड संक्रमण दर १३.९८ प्रतिशत छ । हप्तायता दैनिक औसत ५ हजार ७६४ नमूनाको मात्र पीसीआर परीक्षण हुँदै आएको छ ।
सरकारी तथ्यांकअनुसार शनिवार देशभरका ४५ सरकारी र ३५ निजी गरी कूल ८० वटा प्रयोगशालामा ४ हजार ७८० पीसीआर परीक्षण भएकामा ७१० जनामा संक्रमण देखिएको छ । ‘हाल देशभरि कोभिडको सस्पेक्टेड केसमा संक्रमण देखिने वास्तविक दर २५–२६ प्रतिशत नै छ,’ डा. बीसी भन्छन्, ‘सस्पेक्टेड केसको दाँजोमा विदेश जाने स्वस्थ व्यक्तिहरू अत्यधिक मात्रामा दिनहुँ पीसीआर परीक्षण गराउने भएकाले नै शनिववार संक्रमण दर १४.८५ प्रतिशत मात्र देखिएको हो ।’
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले हाल कोभिडको केस कम देखाएर ट्रान्समिसन रेट र पोजेटिभिटी रेट लुकाउन खोजिएको आरोप लगाए । उनी भन्छन्, ‘हाल संक्रमण दरमा देखिएको कमीका कारण कोभिडको लक्षित समूहबाहेकका व्यक्तिद्वारा अत्यधिक मात्रामा पीसीआर परीक्षण गरिएकाले लक्षित समूहको परीक्षणमा अत्यन्त कमी आएको छ । जसका कारण परिणाम अर्कै आउँछ ।’
विदेश जान दिनहुँ पीसीआर परीक्षण गराएका व्यक्तिहरूको संख्या घटाउने हो भने वास्तविक संक्रमणको अवस्था स्पष्ट हुने विज्ञको भनाइ छ । हाल दैनिक सरदर १ हजार ८०० भन्दा बढी व्यक्ति ७२ घण्टाभित्र पीसीआर परीक्षण गराएर विदेश जाने गरेका छन् ।
‘शनिवार गरिएको ४ हजार ७८० पीसीआर परीक्षणमा विदेश जाने व्यक्तिको सरदर संख्या १ हजार ८०० घटायौं भने वास्तविक परीक्षण गराउने कोभिडको सस्पेक्टेड केस २ हजार ९८० मात्र हुन्छ,’ डा. बीसीले भने । विदेश उड्न खोज्ने व्यक्ति अधिकांश स्वस्थ हुने जनाउँदै उनले अगाडि थपे, ‘मुलुकमा शनिवार २ हजार ९८० कोभिडको सस्पेक्टेड केसले पीसीआर परीक्षण गराउँदा ७१० जना पोजिटिभ देखियो अर्थात् देशभरमा कोभिडको सन्दिग्ध व्यक्तिमा संक्रमण देखिने दर अझै २४ प्रतिशत देखिन्छ ।’
विदेश जाने अधिकांश व्यक्तिले बागमती प्रदेशमै परीक्षण गराउने भएकाले मुलुकभरिमा कोभिडको सस्पेक्टेड केसमा सबैभन्दा बढी संक्रमण दर बागमती प्रदेशमै देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिवार देशभरमा गरिएका कूल ४ हजार ७८० पीसीआर परीक्षणमा २ हजार ९५५ पीसीआर परीक्षण बागमती प्रदेशमा भएको छ । ‘बागमतीमा शनिवार गरिएको कूल २ हजार ९५५ पीसीआरमध्ये दैनिक विदेश उड्नेहरूको सरदर संख्या १ हजार ८०० घटाउँदा कोभिडको परीक्षण गराउने सस्पेक्टेड व्यक्तिहरूको वास्तविक संख्या १ हजार १५५ हुन्छ,’ डा.बीसी भन्छन्, ‘बागमतीमा शनिवार ४१५ जना कोभिड पोजिटिभ देखिएका छन् अर्थात् यो प्रदेशमा सस्पेक्टेड कोभिड संक्रमितमध्ये पोजिटिभ देखिने दर ३६ प्रतिशतसम्म आइरहेको छ ।’
राजधानीमा प्रत्येक २–३ जना सस्पेक्टेड कोभिड संक्रमितको पीसीआर गर्दा १ जना पोजिटिभ देखिने अवस्था कायम छ । यसैले राजधानीबासीले हाल सरकारद्वारा जानकारी गराइएको संक्रमण दरमा देखिएको कमीलाई दृष्टिगत गरी व्यक्तिले जनस्वास्थ्य उपाय अपनाउन छाडेको उनको भनाइ छ । उनले यही अवस्थामा कोभिडको दोस्रो लहर आउने उच्च सम्भावना रहेको डा. बीसी बताउँछन् ।
उनका अनुसार मुलुकमा कोभिडको दैनिक रूपमा वास्तविक पोजिटिभ देखिने दर निकाल्नका लागि सरकारले विदेश जान पीसीआर गराएकाको संख्या हटाएर गणना गर्नुपर्छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
अहिले मुलुकमा कोभिडको परीक्षण लक्षित समूहमा नभइरहेको औंल्याउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. जीडी ठाकुरले भने, ‘नमूना संकलन र परीक्षण कोभिडका लागि लक्षित समूह बाहेकको भइरहेकाले संक्रमण दरमा कमी देखिएको हो । विदेश उड्ने स्वस्थ व्यक्तिहरू संक्रमणको वास्तविकता थाहा पाउनका लागि लक्षित समूह होइनन् ।’
विदेश जाने स्वस्थ व्यक्ति र कोभिडको कडा लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण हुँदा हालको तथ्यांकले वास्तविकता थाहा पाउन गाह्रो भएको जनाउँदै डा. ठाकुरले भने, ‘कोभिडको वास्तविक तस्वीर जनतासामु नआए उहाँहरूले अपनाउने स्वास्थ्य संवेदनशीलतामा कमी आएर मुलुकमा कोभिडको दोस्रो तरंग आउने आधार तयार हुन्छ ।’
विज्ञहरू पीसीआर परीक्षणको संख्या र दायरा बढाउँदा मात्र गुणात्मक रूपले मुलुकमा भएको संक्रमणको वास्तविकता थाहा हुने बताउँन् । हालसम्म कोभिडका लागि गरिएको १८ लाख ६६ हजार २१० पीसीआर परीक्षणमध्ये २ लाख ५३ हजार १८४ नमूना पोजिटिभ देखिँदा हालको संक्रमण दर १३.५६ प्रतिशत रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।