काठमाडौं – पछिल्ला केही कदमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी बदनाम हुँदै गएपछि शितलनिवासमा तनाव उत्पन्न भएको देखिएको छ ।
राष्ट्रपति भण्डारीका सल्लाहकार मिडियामा आएर स्पष्टीकरण दिन थालेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजित साक्षात्कारमा राष्ट्रपति भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढंगले विवादमा ल्याउने कार्य भएकोमा चिन्ता व्यक्त गरे ।
यादवले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको दाबी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको यादवले दाबी गरे । तर प्रधानमन्त्री केपी शर्मा ओली दिनदिनै राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास जाने गरेको विषयमा भने यादवले कुनै स्पष्टीकरण दिएनन् ।
‘राष्ट्रपति व्यक्ति नभएर निर्विवादित संस्था हो,’ यादवले भने, ‘यो संस्थाको गरिमा जोगाउन नसके संविधान कमजोर बन्न सक्छ ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पेश गरेको निवेदनलाई राष्ट्रपति कार्यालयले दर्ता नगरेको भन्ने विषयमा कुनै सत्यता नभएको उनले दाबी गरे । तर नेकपा नेताहरू भीम रावल र पम्फा भुसालले राष्ट्रपति कार्यालयका सचिवलाई भेट्न नपाएको भनेर मिडियामा अभिव्यक्ति दिएका थिए ।
नेकपामा विवाद चर्किएका बेला प्रधानमन्त्री ओलीसहित नेताहरू शितलनिवासमा गइराख्ने र पार्टीका गतिविधि शितलनिवासबाट निर्देशित हुन थालेपछि पछिल्लो समय राष्ट्रपति भण्डारीको बदनाम हुँदै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।