काठमाडौं – सत्तारुढ नेकपा फुटको संघारमा छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको शक्ति संघर्षको कारण नेकपा विवादको चरम उत्कर्षमा छ। आज आइतबार नेकपाको स्थायी कमिटि बैठक बस्दै छ। अल्पमतमा परेका ओली आफू फालिने डरले सुरुमा नजाने बताएपनि अहिले भने बैठकमा जाने तयारीमा छन्। तर, त्यस अघि ओली निकटका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेट्दै छन्।
हिजो शनिबार ओली निकटका अर्का नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डलाई भेटेका थिए। तर, प्रचण्ड पुरानै अडानमा यथावत रहेको बुझिएको छ। मंसिर २१ गते सुरु भएको स्थायी कमिटीको अर्को बैठक आइतबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ। सहमतिको सूत्र खोज्न भन्दै एक साता बैठक स्थगित गरिए पनि सहमति जुट्ने कुनै सम्भावना देखिएको छैन।
सहमतिको सूच खोज्न दुई पक्षबीच खुलस्त छलफल समेत हुन सकेको छैन। बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा भेटवार्ता भएपनि त्यहाँ कुनै सहमति जुट्न सकेन। स्थायी कमिटीका ती नेताले शनिबार पोखरेलले के प्रस्ताव ल्याए भन्ने खुलस्त नभएको बताए। उनले बरु आइतबार बिहान प्रचण्डसँग भेट्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आउन लागेको जनाए। नेम्वाङ पनि ओली निकट नेता हुन्।
ओलीले प्रचण्डसँग १९ पृष्ठ लामो प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् भने प्रचण्ड–माधव नेपाल पक्षले दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत भैसकेकाले अब छलफल गरेर निर्णय गर्नु पर्ने बताउँदै आएका छन्।
प्रचण्ड–नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये कम्तिमा एक पद तत्कालै त्याग गर्नुपर्ने अडान राखेको छ, जसलाई ओलीले अस्वीकार गर्दै आएका छन्। एक पद त्याग गर्न ओली तयार नभए स्थायी कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय हुने र त्यसो गर्दा उनले दुवै पद गुमाउन सक्ने चेतावनी अर्को पक्षले दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।