काठमाडौँ- अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ ।
कम्पनीले लगभग एक करोड रुपैया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमवार शिलान्यास गरेका छन् ।
निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।
“यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ,” अग्रवालले बताए, “तसर्थ, यस क्षेत्रमा स्वास्थ्य सेवाको अभाव खट्किएकाले सोलाई परिपूर्ती गर्नका लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।”
अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घाखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्रको अवधारणा नमुना भएको जानकारी दिए ।
उनले भने “यस स्वास्थ्य केन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।” सियारी गाउँपालिकामा सिमेन्ट उत्पादन केन्द्र रहेको यस कम्पनीले विगतमा पनि यस गाउँपालिका तथा आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विविध किसिमका पूर्वाधारको विकासमा सघाउ पुर्याउँदै आइरहेको छ ।
यसै वर्षको बैशाख महिनामा पनि कम्पनीले प्रदेश ५ सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकाका लागि दुई लाख रुपैँया बराबरको नगद सहयोग प्रदान गर्नुका साथसाथै कम्पनीको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालिका – तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिका – का बिपन्न बर्गका घरपरिवारका लागि करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।